दमक,चैत १६ । फागु पूर्णिमा ( होली )पर्वको अवसर पारेर दमकमा नेपाल प्रेस युनियनले पत्रकारहरुवीच शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कमल ५ पाडाजुंगीस्थित रिभर भ्यू हेरिटेज रिसोर्टमा एकापसमा शुभकामना आदान प्रदान गरी होली पर्व मनाएका हुन् ।
युनियनको माइपश्चिम क्षेत्रीय समिति दमकका अध्यक्ष विष्णु सुब्बाको अध्यक्षता तथा युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल महासंघ झापा शाखाका पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघ झापाका अध्यक्ष तारामणी सापकोटा, उपाध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
होलीलाई सामाजिक तथा सांस्कृतिक पर्वका रुपमा मनाउने उद्देश्यले पत्रकारहरुबीच मैत्रीपूर्ण होली मिलन कार्यक्रम गरिएको युनियनका जिल्ला उपाध्यक्ष गिरीराज भटटराईले बताए ।
त्यस अवसरमा रिसोर्टका सञ्चालक रुद्र कार्कीले दमक आसपासका क्षेत्रमा मनोरञ्जनस्थलको अभाव भईरहेको अवस्थामा यस रिसोर्टले थोरै पनि सुविधा पुर्याउने जनाए । युनियनका माइपश्चिम क्षेत्रीय उपाध्यक्ष बेणु अधिकारीले स्वागत मन्तव्य राखेको सो होली मिलन कार्यक्रमको व्यवस्थापन रिसोर्टले गरेको थियो । कार्यक्रममा महासंघका प्रदेश सदस्य विमल लामिछानेसहित दुई दर्जन पत्रकारहरुको उपस्थिति रहेको थियो ।



