बिर्तामोड , चैत १७ । दोस्रो चरणमा कोरोना संक्रमण फैलिदै गएपछि त्यसबाट जोगिनका लागि बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र लाग्ने सम्पूर्ण साप्ताहिक हाटबजार बन्द गरेको छ ।

बढी भीडभाडमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरिएको हो । मंगलबार बसेको नगरस्तरीय कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । बिर्तामोड क्षेत्रभित्र बुधबारे हटिया, बिर्ताबजार , गरामनी , सैंनिकबजार,चारपाने , चैतुबारीलगायतका स्थानमा हाटबजार लाग्ने गरेको छ । ती सबै हाटबजार लाग्न नदिने निर्णय गरिएको खड्काले बताए । त्यसैगरी नगरभित्र २५ जनाभन्दा बढी मानिसको भीड हुन नदिने बैठकले निर्णय गरेको छ । २५ जनाभन्दा बढी भीडभाड हुने खालका कार्यक्रम , बैठक , सेमिनार , गोष्ठीजस्ता कार्यक्रम गर्न नदिने निर्णयसमेत भएको फोकल पर्सन खड्काले जानकारी दिए । बैठकमा स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालय झापाबाट प्राप्त परिपत्र अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु पालना गर्ने र गर्न लगाउने समेत निर्णय भएको छ । मास्क अनिवार्य लगाउने , सेनिटाइजार प्रयोग गर्ने , सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्नेजस्ता मापदण्डहरुलाई पालना गरिनुपर्नेमा जोड दिइएको छ ।
नगरस्तरीय कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिका संयोजक रहेका नगर प्रमुख धु्रवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको कार्यक्रममा उपप्रमुख पवित्रा महतारा प्रसाई , प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ, नेकपा एमालेका ज्ञानुराम प्रसाई , सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक गौतम योन्जन , इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक विजय कार्की ,जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगु , बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराईलगायतले एक वर्ष अगाडिको कोरोना कहरको अनुभव सुनाउँदै सावधानीका हरसंभव उपाय अवलम्बन गरिनु पर्नेमा जोड दिएका थिए । बिर्तामोडमा हालसम्म ७०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ । नगरपालिकाका ४ हजार ९४५ जनाको पिसिआर परीक्षण गरिएको छ भने १ हजार ७७४ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियानमा ६५ वर्षमाथिका ३ हजार ३९५ जनालाई कोरोनाको खोप लगाइएको फोकल पर्सन खड्काले जानकारी दिए । उनका अनुसार त्यसअघि पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी , सफाइकर्मी , कर्मचारी, पत्रकारलगायतलाई कोरोनाको खोप दिइएको थियो । कार्यक्रममा सावधानी सँगसँगै एन्टीजिन टेष्टको दायरा बढाउने निर्णय भएको जनाइएको छ ।