झापा , चैत १८ । झापामा हात्तिपाइले रोग निवारण अभियानअन्तर्गत आम औषधि वितरण कार्यक्रममा ८ लाखबढीलाई औषधी खुवाउने लक्ष्य राखिएको छ ।

जिल्लाका कूल ९ लाख ३३ हजार जनसँख्यामध्ये ८ लाख ४ हजार ५७ जनालाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको हो । औषधि खुवाउनका लागि ६ सय जना स्वास्थ्यकर्मी र ६ सय जना महिला स्वयंसेविका परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयले अभियानका लागि सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ । चैत २० गतेदेखि चैत मसान्तसम्म झापाका १५ वटै स्थानीय तहमा अभियान सञ्चालन गर्नका लागि सम्पूर्ण तयारी पूरा गरिएको बुधवार बिर्तामोडमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको हो ।
झापामा आर्थिक वर्ष २०७६–०७७ मा ५ सय ५४ जना हात्तिपाइलेका रोगी भेटिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । तीमध्ये हाइड्रोशील भएका ३ सय ७२ जना, हात र स्तन सुन्निएका १ सय १० जना र खुट्टा सुन्निएका ७२ जना भेटिएको कार्यक्रम संयोजक चम्लागाईले बताए ।
कार्यक्रमको उद्धेश्यमाथि स्वास्थ्य कार्यालय झापाका कार्यालय प्रमुख इश्वरीप्रसाद पौडेलले प्रकाश पारेका थिए । उनले १० औं चरणको हात्तिपाइले औषधि वितरण अभियान भएको बताउँदै नेपाल सरकारले सन् २०२६ सम्ममा निवारण गर्ने उद्धेश्य राखेको बताए । क्यान्सरभन्दा घातक रोग हात्तिपाइले भएकाले सवैले औषधि खानु पर्नेमा उनले जोड दिए । हात्तिपाइलेले असक्त, असमर्थ तथा अपाङ्गता बनाउने र रोग लागेको ब्यक्तिलाई सामाजिक तिरस्कार हुने भएकाले पनि औषधि सेवन गर्नु पर्ने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्