सुशिला भट्टराई ,
झापा ,चैत १९ । आउँदो राष्ट्रिय जनगणनामा हिन्दू धर्मलाई अल्पमतमा पार्ने खतरा भएपछि विश्व हिन्दू महासंघले मेची महाकाली धर्म जागरण अभियान थाल्ने तयारी गरेको छ ।

आगामी बैशाख १० गते पूर्वको मेची पुलबाट शंखघोष गरी देशव्यापी जागरण अभियान शुरु गरिने भएको हो । बैशाख ८ गते काठमाडौंमा बृहत सभा र पत्रकार सम्मेलन गरी ९ गते झापा आइपुगेर १० गतेबाट अभियान शुभारम्भ गरिने महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष शंकर खरालले बताए । अभियानमा राजमार्गअन्तर्गतका प्रत्येक शहरमा कोणसभा गरिनेछ । त्यस्तै प्रदेश १ मा बृहत धर्मसभा गर्दै प्रदेश ७ सम्म अभियान संचालन गरिने खरालले बताए ।
देशव्यापी जागरण अभियानको पूर्वसन्ध्यामा तयारीका लागि विश्व हिन्दू महासंघको केन्द्रीय टोली बुधबार झापा आइपुगेको छ । महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारी नेतृत्वको टोलीमा वरिष्ठ केन्द्रीय उपाध्यक्ष शंकर खराल , केन्द्रीय उपाध्यक्ष दधिराम शर्मा , यज्ञ ओली , केन्द्रीय सचिव लक्ष्मण पोखरेललगायत छन् । कैलालीको गोदावरीमा बृहत धर्मसभा आयोजना गरेर प्रारम्भ गरिएको भेटघाट तथा जागरण अभियानको तयारी सभा गर्दै झापा आइपुगेको वरिष्ठ केन्द्रीय उपाध्यक्ष खरालले बताए ।
राष्ट्रिय जनगणना २०७८ मा हिन्दू धर्मलाई अल्पमतमा पार्ने षडयन्त्र भइरहेको हुँदा हिन्दूहरुको वर्चस्व कायम राखी जनचेतना फैलाउने , अब आउने निर्वाचनमा हिन्दू राष्ट्रप्रेमीलाई मात्र भोट दिने अभियान चलाउने , पार्टीभन्दा माथि उठेर हिन्दू राष्ट्र स्थापनामा सहयोग गरौं भन्ने अभियान चलाउने ,एक वर्षभित्र संगठन विस्तार गरेर २०७८ मंसीरदेखि आन्दोलन चर्काएर २०७८ सम्म नेपाललाई जसरी पनि हिन्दू राष्ट्र बनाउने संकल्पका साथ अगाडि बढ्ने ,धार्मिक , आध्यात्मिक , भाषिक, सांस्कृतिक सबै हिसाबले नेपाल विश्वको गुरु राष्ट्र भएको र विश्वमा एकमात्र हिन्दू राष्ट्र नेपाल भनेर पाएको मान , शानलाई बचाएर संसारभरका झण्डै २ अर्ब हिन्दूको लागि आस्थाको केन्द्र बनाएर धार्मिक पर्यटन भित्र्याएर देशको विकास गराउनेजस्ता उद्धेश्य अभियानको रहेको वरिष्ठ केन्द्रीय उपाध्यक्ष खरालले जानकारी दिए । महासंघको केन्द्रीय टोलीले जागरण अभियानको तयारीका लागि झापामा भेटघाट तीब्र पारेको छ । विश्व हिन्दू महासंघ झापाको कार्यालयमा बुधबार पुगेको टोलीले बिहीबार ज्यामिरगढी , बाहुण्डाँगीलगायतका ठाउँमा हिन्दू धर्मावलम्बीहरुसँग भेटघाट गरेको छ । टोलीले साधुटार , अर्जुनधारा , चारपानेलगायतका ठाउँमा रहेका धर्मपीठहरुमा समेत पुगेर भेटघाट गर्ने कार्यक्रम रहेको महासंघका जिल्ला अध्यक्ष मोहन उप्रेतीले बताए ।
यसैबीच नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव दयानन्द गोस्वामी विश्व हिन्दू महासंघको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका छन् । महासंघका केन्द्रीय अध्यक्ष डा. अधिकारीले आमन्त्रित केन्द्रीय सदस्यको पत्र बिहीबार गोस्वामीलाई दिएका थिए ।