झापा , चैत १८ । झापामा हात्तिपाइले रोग निवारण अभियानअन्तर्गत आम औषधी वितरण कार्यक्रम आजदेखि शुरु हुँदैछ ।

चैत २० गतेदेखि चैत मसान्तसम्म झापाका १५ वटै स्थानीय तहमा यो अभियान सञ्चालन हुनेछ । अभियानअन्तर्गत जिल्लाका ८ लाखबढीलाई औषधी खुवाउने लक्ष्य राखिएको छ ।
जिल्लाका कूल ९ लाख ३३ हजार जनसँख्यामध्ये ८ लाख ४ हजार ५७ जनालाई हात्तिपाइले रोगविरुद्धको औषधी खुवाउने लक्ष्य राखिएको हो । औषधी खुवाउनका लागि ६ सय जना स्वास्थ्यकर्मी र ६ सय जना महिला स्वयंसेविका परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा आर्थिक वर्ष २०७६–०७७ मा ५ सय ५४ जना हात्तिपाइलेका रोगी भेटिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । तीमध्ये हाइड्रोशील भएका ३ सय ७२ जना, हात र स्तन सुन्निएका १ सय १० जना र खुट्टा सुन्निएका ७२ जना भेटिएको कार्यक्रम संयोजक चम्लागाईले बताए ।
क्यान्सरभन्दा घातक रोग हात्तिपाइले भएकाले सवैले औषधि खानु पर्नेमा उनले जोड दिए । हात्तिपाइलेले असक्त, असमर्थ तथा अपाङ्गता बनाउने र रोग लागेको ब्यक्तिलाई सामाजिक तिरस्कार हुने भएकाले पनि औषधि सेवन गर्नु पर्ने उनले बताए ।

यसैबीच हात्तिपाइले रोगबिरूद्धको औषधी सेवनमा घट्दै गएकोमा आकर्षण जगाएर हात्तिपाईले रोगीविहीन भद्रपुर नगर निर्माणका लागि भद्रपुर जेसीजद्वारा सचेतनामूलक कार्यक्रम सुरू गरिएको छ ।
सरकारले एक दशकयता कार्यक्रमको रूपमा आमनागरिकलाई हात्तिपाइले रोग निवारणका लागि औषधी खुवाउने कार्यक्रम सञ्चालनमा ल्याएको भएपनि झापा हात्तिपाईले रोगीविहीन हुन नसकेपछि भद्रपुर जेसीजले सदरमुकामबाट औषधी सेवनका लागि सचेतना सुरू गरेको हो ।
भद्रपुर जेसीजका अध्यक्ष खिलनाथ पाण्डे निकासको नेतृत्वमा सचेतनामुलक व्यानर टाँस्ने अभियान तीव्र बनाइएको छ । १० वटा वडा रहेको भद्रपुरका सवै वडाका मुल बस्ती तथा चौकचौकमा व्यानर टाँस्ने, अडियो सन्देश प्रवाह गर्ने कार्य भइरहेको अध्यक्ष पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार जनचेतनाको अभावले औषधीप्रति नकारात्मक धारणा उत्पन्न हुँदा औषधी सेवन गर्नेको संख्या कम भएर संभावित रोगीहरु रहिरहेकाले सचेतना अभियान सञ्चालनमा ल्याउनु परेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्