भद्रपुर, चैत २० । सरसफाइ तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाले कचनकवल गाउँपालिकाको सातवटै वडामा सञ्चालन गरेको सरसफाइ सचेतना कार्यक्रम प्रभावकारी देखिएपछि भद्रपुरमा पनि शुरु गरिएको छ ।

‘दुषित खानेपानी तथा फोहोरजन्य रोगहरु र पूर्ण सरसफाइमा समुदायको भूमिका’ विषयक अन्तरक्रियात्मक कार्यक्रम कचनकवलमा प्रभावकारी देखिएकोले सोही अनुसारको कार्यक्रम भद्रपुरमा पनि शुरु गरिएको क्लिन झापाका सचिव रुद्रबहादुर न्यौपानेले जानकारी दिए ।
भद्रपुरको वडा नं ४ मा शुक्रबार अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष हंशधर राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रमको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । नगरप्रमुख श्रेष्ठले खुला दिसामुक्त अभियान र कोरोना कहरका बेला महत्व पाएको सरसफाइको विषय बिर्सन थालिएकोले त्यसलाई पुनः स्मरण गर्न र स्वास्थ्य तथा सरसफाइका मापदण्ड पालना गर्न गराउनका लागि पनि नगरपालिकाले यो कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

अन्तरक्रियामा संस्थाका सचिव न्यौपानेले ‘सरसफाइ र स्वच्छताको अवधारणा, शौचालय एक फाइदा अनेक’ र ‘कोभिड–१९ ले पारेको असर र अपनाउनुपर्ने सावधानी’, अध्यक्ष शान्ति उपाध्यायले खानेपानीसम्बन्धी र उपाध्यक्ष सन्तोष न्यौपानेले ‘फोहोरमैला व्यवस्थापन’ र ‘पूर्ण सरसफाइ’का विषयमा प्रस्तुति दिएका थिए ।
भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक, टोल विकास संस्थाका पदाधिकारी, न्यायिक समितिका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
पहिलो चरणको कार्यक्रमअन्तर्गत अब भद्रपुरको वडा नं २ र ३ मा यो कार्यक्रम गरिने क्लिन झापाका कोषाध्यक्ष विजय भट्टराईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्