रेवती घिमिरे,
भद्रपुर, चैत २१ । महिला हिंसाका घटना बारम्बार सुन्न पाईन्छ । पुरुष हिंसाका घटना त्यति बाहिर आउँदैन । तर, दमक ३ स्थायी घर भएका ५९ वर्षिय चेतनारायण श्रेष्ठले आफू पुरुष हिंसामा परेको गुनासो गरेका छन् ।

उनी आफ्नै श्रीमतीबाट असुरक्षित भएका हुन् । आफूलाई पटकपटक ज्यान मार्नेसम्मको धम्की आएको भन्दै श्रेष्ठले आफ्नो ज्यानको सुरक्षा गरिदिन र आफ्नो सम्पति फिर्ता गराईदिन आग्रह गरेका छन् ।
हाल भद्रपुर नगरपालिका वडा नं १० स्थित धनुषमोडमा भाडामा बस्दै आएका श्रेष्ठले आफूलाई छोडेर अर्कैसंग गएकी श्रीमती रिना श्रेष्ठले आफ्नो घर दमक जान र बस्न नदिई ज्यान मार्नेसम्मको धम्की दिने गरेकीले आफ्नो ज्यानको सुरक्षा गरिदिन माग गरेका हुन् । आफूले विगत ८ बर्ष अगाडी ल्याएकी श्रीमती रिना गत मंसिर महिनामा आफ्नी ७ बर्षिया छोरीसहित अर्कैसंग गएकी र आफूसंग भएको जम्मा ६ लाख ६१ हजार ५ सय रुपैयाँसमेत लिएर गएकी हँुदा उक्त रकम फिर्ता गर्न समेत उनले माग गरेका छन् ।
उनले श्रीमती रिनाले आफूलाई पटकपटक आफ्नो घरमा जाँदा बाटो ढुकेर अपरिचित समुहद्वारा योजनाबद्ध तरिकाले कुटाएकोे गुनासो गरे । आफूलाई सांघातिक हमला हुँदा दमक नगरपालिकाको ३ नं वडा कार्यालय , इलाका प्रहरी कार्यालय दमक , जिल्ला प्रहरी कार्यालयमा उजुरी दिँदा समेत सुनुवाइ नभएको गुनासो गरे । ‘न्यायको लागि आफूले पटकपटक स्थानीय तहका जनप्रतिनिधि, प्रहरी प्रशासनलगायतका निकायमा गएपनि सुनुवाइ भएन ’ उनले भने ।
न्याय नपाएको भन्दै विभिन्न संचारमाध्यम खोज्दै हिडेका चेतनारायणले प्रतिदिन दैनिकसँग दुखेसो पोख्दै भने ,‘उसको मान्छे थुप्रो छ , मलाई झण्डै मारेको । ’
नावालक छोरीलाई आफूले पालनपोषण गर्न पाउनु पर्ने ,सुरक्षाको प्रत्याभूति हुनु पर्ने र रिनाले लगेको रकम फिर्ता गराई सहजरुपमा आफनो घरमा बसोवास गर्न पाउनु पर्ने वातावरण मिलाई दिन सरोकारवाला सबैसंग आग्रह गरेका छन् ।चेतनारायण र रिनाबीचको सम्बन्ध विच्छेदको मुद्धा झापा जिल्ला अदालतमा चलिरहेको छ । न्यायपालिकाले दिएको फैसला मान्न तयार देखिएका बृद्ध चेतनारायणले आफ्नो बाँच्न पाउने अधिकार दिलाइदिन सबैसँग आग्रह गरेका छन् ।
यस बिषयमा बुझ्न खोज्दा हामीलाई प्राप्त रिना श्रेष्ठको मोवाईल नं ९८०८७१४५२२ मा पटकपटक सम्पर्क गरेपनि सम्पर्क हुन सकेन ।