शिवसताक्षी , चैत २३ । झापाको दुधेमा आईतबारदेखि शुरु १ नम्बर प्रदेशस्तरीय प्रथम कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान कप फुटबल प्रतियोगितामा चन्द्रगढी सिभिसीले विजयी सुरुवात गरेको छ ।


टाईब्रेकरमा आयोजक दुधे भेट्रान (रातो) लाई ४–३ गोल अन्तरले पाखा लगाउँदै चन्द्रगढी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि निर्णयका लागि रेफ्री भाग्य लिम्बूले आयोजकको सहयोगमा टाइब्रेकर गराएका थिए। चन्द्रगढी सिभिसीले टाईब्रेकरमा ४ गोल गर्यो । आयोजकले तीन गोल मात्र गर्न सफल भयो । विजेता टिमका सुरज गुरुङ, ख्याम पोखरेल, उत्तमकुमार राई र अजय ओरानले गोल गरेका थिए ।
तारा कटुवालको गोल आकासिएको थियो । आयोजकका तर्फबाट भने पेमा स्यम्बा तामाङ,भगवतीप्रसाद सदेम्बा र शैलेन्द्र चापागाईले मात्र गोल गरे । दीपककुमार राईको सुट बाहिरिएको थियो भने सन्तोष थोप्राको प्रहार चन्द्रगढीका गोलकिपर रुपक गुरुङले सजिलै क्याच गरेका थिए । खेलको म्यान अफ द म्याच पनि विजयी टिमका गोलकिपर रुपक गुरुङ घोषित भए । दुधेस्थित क्षेत्रीय रंगशालामा –हिजोदेखि शुरु प्रतियोगिता चैत्र २८ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा १० टिमले सहभागिता जनाउने आयोजक समितिले जनाएको छ । झापा बाहिरका सुनसरीको धरान फुटवल क्लब र इटहरी भेट्रानले सहभागिता जनाउने छन् । यस्तै मोरङको विराटनगर भेट्रान र एभरेष्ट भेट्रानले पनि प्रतियोगितामा सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष सन्तोष नेम्वाङले बताए । यता, झापाका दमक–लखनपुर भेट्रान, बिर्तामोड, आयोजक दुधेको रातो र निलो, सुरुङा र भद्रपुरले प्रतियोगितामा सहभागिता जनाउने छन् ।
प्रतियोगिताको च्याम्पियनले ५५ हजार रुपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्टले ३ हजार र मेन अफ दि म्याचका विजेताले १ हजार ५ सय पाउने आयोजक समितिले जनाएको छ । आयोजक समितिका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्