धुलाबारी , चैत २३ । मेचीनगर नगरपालिकाभित्र आदिमकालदेखि बसोबास गर्दै आएका धिमालहरुले आफूहरुलाई नगरको प्रथम नागरिक घोषणा गर्न माग गरेका छन् ।

ज्ञापनपत्र बुझाउँदै

मेचीनगरभित्र प्राचीनकालदेखि बसोबास गरी यहाँको भूमिलाई आवाद र सिंचित आफूहरुले गरेको भन्दै भूमिपुत्र धिमालहरुले विभिन्न प्राचीन आधार र ऐतिहासिक तथ्य प्रमाणहरुलाई आधार मानी प्रथम नागरिक घोषणा गर्न माग गरेका हुन् । नगरसभाबाट त्यसलाई पारित गराउन माग गर्दै आइतवार उनीहरुले नगर प्रमुख विमल आचार्यलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आफूहरुलाई प्रथम नागरिक घोषणा गराउनका लागि अभियान नै संचालन गरेका छन् ।

मागसहितको ज्ञापनपत्र

अभियानका संयोजक पात्र धिमाल, सचिव चन्द्रकान्त धिमालसहितको टोलीले नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो ।पहिलो पटक दमक नगरपालिकाले २०७४ असोज ३० गतेको पहिलो नगरसभाबाट पारित गरी नगरपालिकाभित्रका धिमालहरुलाई प्रथम नागरिक घोषणा गरेको थियो । त्यसपछि मोरङको पथरी शनिश्चरे नगरपालिकाले २०७५ असार २९ गते तेस्रो नगरसभाबाट पारित गरी नगरपालिकाभित्रका धिमालहरुलाई प्रथम नागरिक घोषणा गर्यो भने बेलबारी नगरपालिकाले पनि २०७५ फागुन ३० गते धिमाल समुदायलाई नगरको पहिलो नागरिक घोषणा गरेको छ । नेपालको संविधान २०७२ को अनुसूची ८ मा उल्लेख भएअनुसार धारा ५७ को उपधारा (२), धारा २०१४ को उपधारा (२), धारा २२१ को उपधारा(२) र धारा २२६ को उपधारा (१) लाई आधार मानी प्राचीनकालदेखि बसोबास गर्ने जातिलाई प्रथम नागरिक घोषणा गर्न सकिने प्रावधान छ । धिमाल समुदायको अपनत्व, पहिचान तथा अधिकारलाई सम्मान दिलाउनका लागि नगरपालिकाले आफूहरुलाई प्रथम नागरिक घोषणा गर्नुपर्ने उनीहरुको भनाइ रहेको छ । मेचीनगरमा दुई हजारको हाराहारीमा धिमालहरुको बसोबास रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्