भद्रपुर, चैत २३ । झापाको चन्द्रगढीमा लागूऔैषध दुर्व्यसनविरुद्धको एकदिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

चेतना नेपालको आयोजना तथा भद्रपुर ७ नं वडा कार्यालयको सहयोगमा चन्द्रगढीस्थित विरेन्द्र माविको सभाहलमा सम्पन्न कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशिक्षक ईन्द्रप्रसाद ओलीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नगर प्रमुख श्रेष्ठ, जिल्ला प्रहरी कायालय झापाका डिएसपी राकेश थापा, नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ,विद्यालयका प्राचार्य खिलाराज कोईराला ,रुद्र गुरागाई ,विद्यार्थी भावना पोखरेललगायतले बोल्दै मौलाउदै गएको लागूऔषधको प्रयोग नियन्त्रण गर्नमा सीमामा कडाई गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रमको स्वागत कार्यपालिका सदस्य मित्रा भट्टराईले गरेकी थिइन् । पछिल्लो समय काठमाण्डौ र पोखरापछि झापा लागूऔषध दुर्व्यसनको तेस्रो जिल्लाको रुपमा परिचित भएको छ । पछिल्लो ८ महिनाको अवधिमा १५ प्रतिशत लागूऔषध दुव्र्यनका मुद्धाहरु जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । यो हिसाबले पनि दुर्व्यसनीहरुको संख्या बढेको छ ।