बिर्तामोड , चैत २३ । स्वर्गीय सिके र गिरीराजकुमारी प्रसाईको परिवारलाई राजनीतिमा आउन नेपाली काँग्रेसले आग्रह गरेको छ ।

प्रजातान्त्रिक समाजवादका योद्धा तथा कांग्रेसकी नेतृ गिरीराजकुमारी प्रसाईं (ज्ञानु मुमा) को १२ औं पुन्यतिथिको दिन कांग्रेस झापाले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेतृत्वहरुले प्रसाई परिवारलाई राजनीतिमा आउन आग्रह गरेका हुन् ।स्वर्गीय गिरीराजकुमारीप्रति श्रद्धाञ्जली दिँदै काँग्रेस सभापति देउवाले भने,‘ राजनीतिमा आउने हो भने सम्पूर्ण सहयोग गर्नेछौं ।’ सिके प्रसाई र उनकी धर्मपत्नी गिरीराजकुमारीले पार्टीलाई दिएको योगदान अतुलनीय र अनुकरणीय रहेको भन्दै सभापति देउवाले उनीहरुले देखाएको बाटोमा पार्टी हिड्ने प्रण गरे ।
सभापति देउवाले सिके र गिरिराजकुमारीले देखाएको बाटोमा हिड्नु पर्ने आवश्यकता औंल्याए । तत्कालीन सरकारले सर्वस्वहरण गर्दा र निर्वासनमा रहँदासमेत प्रसाईं परिवारले खेलेको भूमिका समाज रुपान्तरणमा महत्वपूर्ण भएको देउवाले बताए ।
उनले गिरिराजकुमारीलाई संयम र समन्वय गर्न सक्ने महिलाको संज्ञा दिए । कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गिरिराजकुमारी महिला नेतृ मात्र नभइ सबैको नेता भएको बताए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, सरिता प्रसाईं, केशवकुमार बुढाथोकी,प्रसाईं परिवारकी सदस्य रमिता प्रसाईंलगायतले बोलेको श्रद्धाञ्जली सभामा वक्ताहरुले सिके र गिरीराजकुमारीले कल्पना गरेको समाज निर्माणमा कांग्रेस जुट्न सक्नुपर्ने धारणा राखे ।
सिके र गिरीराज प्रसाईका छोरा विवेक , बुहारी संगिता , छोरीहरु रमिता र नम्रता उपस्थित रहेको कार्यक्रममा काँग्रेसका सभापति देउवासहित अन्य नेताहरुले समेत पार्टीमा आउन स्वागत गर्दै प्रसाई परिवारको राजनीतिक भविष्य राम्रो रहेको संभावना औंल्याए । उनीहरुले राजनीतिमा आउने विचार भए सक्दो साथ र सहयोग गर्ने वचनवद्धता व्यक्त गरे । नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अन्य पार्टीका नेताहरुले पनि सिके र गिरीराजकुमारीले दिएको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्