झापा , चैत २५ । आज नेपाल पत्रकार महासंघको चुनाव हुँदैछ । बिहान ९ बजेदेखि ५ बजेसम्म हुने चुनावमा ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी परेको छ ।

महासंघको केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्लास्तरको निर्वाचनमा १३ हजार १२२ मतदाता छन् । प्रदेश संरचनामा महासंघमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ । मतदान सम्पन्न भएपश्चात मतगणना शुरु गरिने छ । कुनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासंघको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिए। सातवटा प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुनेछ । ७ प्रदेश बाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ । उपत्यकाका ३ जिल्ला बाहेक बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ । एसोसिएटलाई पनि प्रदेश स्तरकै मान्यता दिइएको छ । एसोसिएटमा अनलाइन पत्रकार संघ, चलचित्र पत्रकार संघ, खेलकुद पत्रकार संघ र वातावरण पत्रकार समूहको सहभागिता छ ।

त्यस्तै प्रतिष्ठानहरुबाट बेग्लै प्रदेशस्तरको मतदान हुनेछ। जिल्ला, एसोसिएट्स, प्रदेश र केन्द्रका लागि एकै पटक निर्वाचन हुने छ । त्यसका लागि मतदाता पत्रकारले जिल्लाबाटै सबै तहका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ। केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका छन् भने गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्षको प्रत्याशी हुन् । महासंघको यसपटकको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (नेपाल पक्ष), मोहन वैद्यको क्रान्तिकारी माओवादी लगायतका दल निकट पत्रकार संगठनले एउटै प्यानल बनाएका छन्। एमालेको प्रधानमन्त्री केपी शर्मा ओली पक्ष निकट प्रेस चौतारीको छुट्टै प्यानल रहेको छ । केही स्वतन्त्र र बागी उम्मेदवारी पनि परेको छ ।

झापामा भने नेपाली काँग्रेस, माओवादी केन्द्रसहितका दलनिकट पत्रकारहरुले एकराज गिरीको नेतृत्वमा एउटा प्यानल बनाएका छन् भने नेकपा एमाले (नेपाल पक्ष)निकट पत्रकारहरुले तीर्थ सिग्देलको नेतृत्वमा प्यानल निर्माण गरेका छन् । त्यस्तै एमालेको प्रधानमन्त्री केपी शर्मा ओली पक्ष निकट प्रेस चौतारीले बिशाल नेम्बाङको नेतृत्वमा तेस्रो प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । झापामा २० पदको लागि मतदान हुनुपर्नेमा यसअघि दुईजना सदस्य निर्विरोध भएका छन् । अब १८ पदको लागि मतदान हुने निर्वाचन संयोजक चिन्तामणि दाहालले बताए । बिर्तामोडको हिमालसागर पार्टी प्यालेसमा चुनाव हुँदैछ । निर्वाचनमा ४४ जना उम्मेद्वार खडा भएका छन् । मतदाताको सँख्या २६३ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्