बिर्तामोड , चैत २५ । बिर्तामोडस्थित गाउँले होटलका संचालक तिलक निरौलाको हत्या भएको तीन दिनपछि बिर्तामोडमै अर्का एक व्यक्ति मृत फेला परेका छन् ।

तीन दिनअघि आइतबार विहान गाउँले होटलका संचालक निरौला मेचीनगर १२ स्थित प्रगति सामुदायिक वनको चारआली जंगलमा मृत फेला परेका थिए । निरौलाका हत्यारालाई प्रहरीले फेला पार्न नसक्दै बिर्तामोडमा अर्को हत्या भएको हो । हत्या गरेर फ्यालेको अबस्थामा अर्जुनधारा ६ कालीझोडा बस्ने ५० वर्षिय गौतम परियारको लाश बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा बुधबार विहान फेला परेको हो । परियारले मासु पसलमा काम गर्ने गरेका थिए । प्रायः घर बाहिरै बस्ने गरेका उनी चार दिनदेखि परिवारको सम्पर्कमा थिएनन् । परियारलाई अन्यत्र हत्या गरेर लाश त्यहाँ फ्यालेको हुनसक्ने आशंका गरिएको छ । लाशबाट गन्ध आइरहेकोले केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रत्यक्षदर्शीहरुले बताएका छन् । लाश फेला परेको खबर आफूहरुलाई विहान ८.३० बजे आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । उनले लाशलाई पोष्टमार्टमका लागि धरान पठाइएको र परिवारका सदस्यहरुसँग सोधपुछ भइरहेको जानकारी दिए ।

एकपछि अर्को अपराध घट्दै गएपछि बिर्तामोडमा सुरक्षा चुनौती देखिएको छ । स्थानीयवासी त्रसित छन् । एकपछि अर्को घटना भएपछि बिर्तामोड नगरपालिकाले बिर्तामोड नगरको शान्ति सुरक्षालाई थप व्यवस्थित बनाई नगरबासीहरु सुरक्षित भएको महसुस हुनेगरीको आबश्यक प्रबन्ध मिलाउन प्रहरी प्रशासनसँग माग गरेको छ । दिनहुँ व्यक्ति हत्या भइरहँदा बिर्तामोडबासीहरु अत्यन्तै दुखित र चिन्तित बनेको भन्दै नगर प्रमुख धु्रवकुमार शिवाकोटीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई पत्रमार्फत ध्यानाकर्षण गराएका हुन् । उनले बिर्तामोड नगरको शान्ति सुरक्षामाथि चुनौती देखिएको भन्दै हत्या भएका तिलक निरौला र गौतम परियारको हत्याको सत्य तथ्य पत्ता लगाई हत्यामा संलग्न अपराधीलाई यथाशिघ्र कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न जोडदार माग गरेका छन् । त्यस ध्यानाकर्षण पत्रको बोद्धार्थ जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ ।

त्यस्तै दैनन्दिनका यस्ता प्रकृतिका घटनालाई अब नजरअन्दाज गरेर बस्न नमिल्ने माओवादी केन्द्रका सिपी कडरियाले बताएका छन् । उनले तत्काल जिल्लास्तरमा सुरक्षा निकाय र जनप्रतिनिधिलगायतको आकस्मिक सर्वदलिय बैठक बसी घटनाहरुको समीक्षासहित नयाँ सुरक्षा रणनीति बनाएर अघि बढ्नुपर्ने भन्दै दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेका छन् । त्यस्तै बिर्तामोडकी राधा सुब्बाले प्रहरीले हत्यारा पत्ता लगाउन नसकेकोमा आश्चर्य व्यक्त गरेकी छन् । ‘बिर्तामोडमा के भइराखेको छ दैनिक मान्छे मारिएको छ कुखुराको चल्ला हराउँदा पनि पत्ता लगाउँछन् जिम्मेवार पक्ष, स्थानीय सरकार र बौद्धिक क्षेत्रको ध्यान आकर्षित होस्’उनले सामाजिक संजालमा लेखेकी छन् । त्यसैगरी बिर्तामोड ३ का रामेश्वर मण्डलले बढ्दो लागूऔषध दुव्र्यसनीका कारण हत्या हिंसा बढेको भन्दै त्यसलाई रोक्न सबैजना लाग्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्