इलाम ,चैत २५ । नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा बिप्लव भट्टराई निर्वाचित भएका छन् ।

बुधबार इलाममा सम्पन्न निर्वाचनबाट १ सय ६ मत प्राप्त गरेर उनी विजयी भएका हुन् ।
नेतृत्व चुन्न देशैभर एकसाथ प्रत्यक्ष प्रणालीमार्फत भएको निर्वाचनमा इलाममा अध्यक्षमा दुई जनाबीच प्रतिष्पर्धा भएको थियो । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस मञ्च नेपालको संयुक्त गठबन्धनबाट युनियनका युवराज भट्टराई (विप्लव) र प्रेस संगठन नेपालका सुजन तिम्सिनाबीच प्रतिष्पर्धा भएको हो । कान्तिपुर मिडिया ग्रुपमा आवद्ध भट्टराईले १ सय ६ मत प्राप्त गर्दा तिम्सिनाले ४८ मत प्राप्त गरेका थिए ।
त्यस्तै महिला उपाध्यक्ष पदका लागि संयुक्त प्यानलबाट प्रेस युनियनकी सुनिता खालिङ राई र प्रेस संगठनकी बुद्धमाया सोङ्मीबीच भएको प्रतिष्पर्धामा पनि संयुक्त प्यानलबाट प्रेस युनियनकी खालिङ विजयी भएकी छन् । खालिङले ९६ मत प्राप्त गर्दा सोङ्मीले ५७ मत ल्याईन् । उता सहसचिवमा पनि संयुक्त गठबन्धनबाट प्रेस युनियनका प्रेम अधिकारी विजयी भएका छन् । सहसचिवमा प्रेस संगठनका राजेश पराजुलीसँगको प्रतिष्पर्धामा अधिकारीले ८९ मत पाए भने पराजुलीले ६३ मत प्राप्त गरे । इलाममा १ सय ७५ जना मतदाता रहेकोमा १ सय ५५ मात्र मत खसेको थियो । यसअघि अन्य ३२ वटा पदमा भने संयुक्त प्यानलका तर्फबाट उम्मेद्वार बनेकाहरु निर्विरोध निर्वाचित भएका थिए । कार्यसमितिका १८ मध्ये १५, केन्द्रीय परिषद सदस्य ५ मा सबै र प्रदेश परिषद सदस्य १२ मा सबै निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्