झापा , चैत २७ । निरंकुश पंचायती सत्ताविरुद्ध आन्दोलनमा सहादत प्राप्त गरेका रत्नकुमार बान्तवाको ६९औँ जन्मजयन्ती तथा ४२ औँ स्मृति दिवस मनाइँदै छ ।

बान्तवाको जन्म वि. सं. २००८ चैत २७ गते इलाम चमैताको चित्रे (हाल देउमाई नगरपालिका– १) मा गर्जमान र पुष्पमाया राईका ११ सन्तानमा तीनवटी दिदीपछि जेठो छोराका रूपमा भएको थियो। उनको बाल्यकाल अभाव र गरिबीमा बित्यो। प्रारम्भिक चरणको शिक्षा चमैतामा पूरा गरी कक्षा ७ सम्म इलामको नारायणस्थानमा आफ्ना मामा गणेश राईको घरमा बसेर पढेका थिए उनले ।
कक्षा ८, ९ र १० पढ्नका लागि पाँचथरको फिदिम हाइस्कुल गए । त्यतिबेला बुबा फिदिममा प्रहरीको जागिरे भएकाले रत्नकुमार पनि बुबासँगै पाँचथर पढ्न पुगेका थिए। २०२८ सालमा उच्च शिक्षाका लागि धरानमा काका नाता पर्ने तुलराम देवानको घरमा बसेर आईए पढ्न थाले। तुलरामका छोरा बम देवानसँग रत्नको राम्रो मित्रता कायम रह्यो। उनले धरानमा पढे पनि त्यसको वार्षिक परीक्षा भने इलाम क्याम्पसबाटै दिए। आईए उत्तीर्ण गरेर बीएड पढ्न २०३० सालदेखि उनी काठमाडौँमा दुई वर्ष बसे।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट उनले २०३२ सालमा बीएड उत्तीर्ण गरी इलाम फर्किए। इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा लगभग छ महिना अध्यापन गरी पूर्णकालीन राजनीतिमा सक्रिय हुन थालेपछि अध्यापन कार्यलाई छाडेर रत्न जनताको माझमा गए।

धरानमा आईए पढ्दै गर्दा २०२८ सालमा झापामा विद्रोह सुरु भयो। झापा विद्रोहले रत्नकुमारमा गम्भीर छाप छाड्यो। वामपन्थी विचार राख्ने बम देवानले पनि रत्नकुमार बान्तवालाई कम्युनिज्मका बारेमा लेखिएका किताब, पत्रपत्रिका तथा अन्य सामग्री पढ्न दिएर सहयोग गरे। उनीभित्र बढ्दै गरेको कम्युनिस्ट मोह काठमाडौंमा आएपछि झाँगियो। २०३० असार १५ गते कीर्तिपुरमा रत्नकुमार बान्तवाको भेट वर्तमान नेकपा एमालेका महासचिव ईश्वर पोखरेलसँग भयो। पोखरेल र बान्तवा एउटै कक्षा र एउटै विषय अध्ययन गर्ने सहपाठी थिए।
वि.सं. २०३२ सालमा अखिल नेपाल कोअर्डिनेसन केन्द्रको इलाम जिल्ला कमिटी गठन भयो। यसको सचिव थिए, झलनाथ खनाल। अन्य सदस्यमा रत्नकुमार बान्तवा, गणेश राई, अगम बान्तवा, भक्त देवान, बमप्रसाद वान्तवा र वसन्त पराजुली थिए। बुर्जुवा शिक्षा बहिस्कार गर्दै गाउँगाउँमा गएर जनतालाई संगठित गर्नुपर्छ भन्ने मान्यताका साथ रत्नकुमार बान्तवा क्याम्पसको जागिर छाडेर २०३३ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय हुन थाले ।
रत्नकुमार बान्तवाले २०३४ सालमा चमैताको आफ्नै घरमा सुरुङ बनाए। त्यसमा बमप्रसाद, डिल्ली, मोहन र पदमको समूह लागेको थियो। रत्नकुमार बान्तवा वैज्ञानिक र व्यावहारिक ज्ञानमा पोख्त थिए। बान्तवाको प्रत्यक्ष निर्देशन र कल्पनामा बनाइएको सुरुङभित्र आधा दर्जन व्यक्ति बसेर छलफल गर्न सक्ने ठाउँ छ । सुरुङको एउटा मुख रत्नको घरमा थियो भने अर्काे मुख जंगलको बीचमा थियो। तेस्रो शक्तिको रूपमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको २०३५ पुस ११ गते संस्थापक केन्द्रीय सदस्य भएका रत्नकुमार बान्तवा पूर्व–उत्तर क्षेत्रको इन्चार्ज थिए। उनको कार्यक्षेत्र इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर र संखुवासभा जिल्ला थिए। २०३५ माघमा नेकपा माले इलाम जिल्ला कमिटी गठन भयो र त्यसका सचिव पनि रत्नकुमार बान्तवा नै भए।
पाँचथरको सुकेपोखरी प्रहरी चौकीबाट २०३५ मंसिरमा गस्तीमा गएका एक प्रहरीलाई चमैताका किसानले नियन्त्रणमा लिएर कुटपिट गरे। प्रहरीलाई नियन्त्रणमा लिएर किसानले कुटेपछि त्यो विद्रोहको पछाडि रत्नकुमार बान्तवाको हात छ भन्ने कुरा प्रशासनले थाहा पायो र चमैता, चित्रे, इभाङमा व्यापक सर्च अभियान चलाउन थाल्यो। २०३५ फागुन २१ गते सुखानीमा मारिएका पाँच जनाको स्मृति दिवस पारेर इलामभरि व्यापक पर्चा छरियो। यसको प्रत्यक्ष नेतृत्व रत्नकुमार बान्तवाले गरेका थिए। त्यस समयमा झलनाथ खनाल झापा जेलमा थिए भने तत्कालीन नेकपा मालेको केन्द्रीय कमाण्डरका रूपमा रत्नकुमार बान्तवाले इलामलगायतका पूर्वी पहाडी क्षेत्रमा शहीदको बदला लिन पंचायती शासन ढाल्ने, राजतन्त्रको उन्मूलन गर्ने र जनवादी शासन स्थापना गर्ने उद्देश्यका साथ पर्चा छरेका थिए।

संगठन निर्माणका क्रममा रत्नकुमार बान्तवा इलामको नाम्सालिङ पुगेको कुरा सुराकीबाट थाहा पाएपछि प्रहरीले २०३५ चैत २४ गते नामसालिङका लोकबहादुर लिम्बूको घरमा घेरा हाल्यो। त्यतिबेला रत्नकुमार बान्तवा, जैमिला राई र डिल्लीप्रसाद राई घेराउमा परे। रातको समयमा प्रहरीको आँखा छलेर रत्नकुमार बान्तवा भाग्न सफल भए र साथीहरूलाई पनि भगाए।
रत्नकुमार बान्तवाको खोजीमा निस्किएको प्रहरीले २०३५ चैत २४ गते इभाङमा रत्नकुमार बान्तवा भन्ने ठानेर गाउँले किसान निमा शेर्पालाई गोली हानेर हत्या ग¥यो। निमा शेर्पाको अनुहार र जिउडाल रत्नकुमार बान्तवासँग मिल्दोजुल्दो थियो। सुराकीले रत्नकुमार भनेर औँल्याएपछि निमालाई प्रहरीले गोली हानेको थियो तर पछि रत्नकुमार बान्तवा नभएर अर्कै व्यक्ति मारेको थाहा पाएपछि प्रहरी बान्तवाको थप खोजीमा निस्कियो।
इभाङमा रहेको एक किसानको घरबाट २०३५ चैत २७ गते बिहान साढे चार बजे उठेर रत्नकुमार बान्तवा, सुशीला श्रेष्ठ, अगम बान्तवा र कुसुम राई ताप्लेजुङ हिँडेका थिए। अलिकति अगाडि बढेपछि प्रहरीसँग उनीहरूको जम्काभेट भयो। प्रहरीसँगै आएका सुराकीले औँल्याएपछि अगाडि रहेका बान्तवालाई प्रहरी विष्णु राईले गोली हाने। रत्नकुमार बान्तवाले पहिलो गोली छले र खुकुरी झिकेर प्रहरीमाथि जाइ लागे। दोस्रो गोली पनि छलिएर अर्काे प्रहरीलाई लाग्न पुग्यो। तेस्रो गोलीले रत्नकुमार बान्तवाको छाती फोरेर मुटुलाई छेड्यो।

यसरी रत्नकुमार बान्तवा २७ वर्ष पूरा गरेर २८ वर्षमा प्रवेश गर्दै गर्दा जन्मदिनमै प्रहरीको गोलीद्वारा मारिए। रत्नले सहादत प्राप्त गरेको एक महिना नबित्दै बमप्रसाद वान्तवाको २०३६ बैशाख २८ गते साखेजुङ गैरीबासमा हत्या गरिएको थियो। रत्नकुमार बान्तवाले सहादत प्राप्त गरेको ३७ वर्षपछि २०७२ फागुन २२ गते उनलाई सरकारले शहीद घोषणा गरेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्