बिर्तामोड , चैत २८ । सहकारीहरुमा सुशासन कायम गर्ने उद्देश्यले झापाका सहकारीकर्मीहरुलाई सुशासनसम्बन्धी प्रशिक्षण दिइएको छ ।

६४ औं सहकारी दिवसको अवसर पारेर शनिबार झापाको बिर्तामोडमा शिखर बचत तथा ऋण सहकारी संस्था, धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था र नयाँ मिलन बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा ‘सहकारी र सुशासन’ विषयमा प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय १ नं प्रदेशका रजिष्ट्रार बलराम निरौला र सहकारी अधिकृत मोहनराज भट्टराईले सहजीकरण गरेका थिए । अन्तरक्रियात्मक कार्यक्रममा उनीहरुले सहभागीहरुको जिज्ञाशाको समाधान समेत गरेका थिए ।

शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउतले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन शिखर साकोसका सहसचिव तारा खतिवडाले गरेका थिए । कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम राखेर आयोजना गरिएको प्रशिक्षणमा झापाका सयभन्दा बढी सहकारीका संचालक र व्यवस्थापकहरुको सहभागिता रहेको शिखर साकोसका व्यवस्थापक लीलानाथ रेग्मीले जानकारी दिए ।