बिर्तामोड , चैत २८ । बिर्तामोड ४ की गीता निरौला उप्रेतीले आफ्ना श्रीमान धर्मप्रसाद उप्रेतीलाई खोजेको डेढ महिनाजति भइसक्यो । अझैसम्म कुनै अत्तोपत्तो छैन ।

विहान घर नजिकको सैलुनमा कपाल काट्न गएका धर्मप्रसाद एकाएक बेपत्ता भएपछि घरपरिवार अचम्भित र चिन्तित बनेका छन् । बिर्तामोड ३ को आदर्श चोकदेखि केही उत्तरपट्टि उनीहरुले डेरा लिएर बसेका थिए । गत फागुन १५ गते विहान पौने ९ बजेतिर धर्मप्रसाद कपाल काट्न सैनिकमोड जान्छु भनी घरबाट निस्केका थिए । न उनले मोटरसाइकल लिएर गएका छन् न मोबाइल नै । कहाँ गए त ? संजीवनी बचत तथा ऋण सहकारी संस्थाको चन्द्रगढी शाखामा फिल्ड सहायक काम गर्ने ३३ वर्षिय धर्मप्रसादलाई परिवारले जानेजति सबै ठाउँमा खोजिसके ।तर , भेट्न सकेका छैनन् । ‘जानेजति बुझ्नु पर्ने सबै ठाउँमा खोजीसक्यौं’ धर्मप्रसादकी श्रीमती गीताले भनिन् ,‘ कतै भेटिनु भएको छैन ।’ हल्दिबारी २ घर भएका उनीहरु छोरीहरुको पढाइका लागि बिर्तामोडमा डेरा लिएर बसेका थिए । उनीहरुका ७ र ५ वर्षका दुई छोरीहरु छन् । ठूली कक्षा १ र सानी एलकेजीमा अध्ययनरत छन् । अभिभावक धर्मप्रसादकै भरमा परिवार चलेको थियो । उनी नै यसरी बेपत्ता भएपछि परिवारलाई निकै समस्या परिरहेको छ । ‘कमाउने मान्छे नै हराएपछि समस्या हुने नै भयो ’गीताले भनिन् ,‘ कोठा भाडा तिर्न , नानी पढाउन , खान समस्या छ ।’ केटाकेटी लिएर घर चलाउन गाह्रो भइरहेको उनले सुनाइन् ।
हराएको दुई दिनपछि उनीहरुले प्रहरीलाई निवेदन दिएका थिए ।‘प्रहरीले काही देख्यौं भने खबर गर्छौं भनेको छ खोई अहिलेसम्म भेटेको खबर आएको छैन’उनले भनिन् । आफ्ना श्रीमानलाई खोजी गर्ने काममा खासै सहयोग नपाएको उनले गुनासो गरिन् । ‘मेरो श्रीमान कहाँ र कुन अबस्थामा हुनुहुन्छ खोजी गरिदिनु प¥यो ’उनकोे आग्रह छ । कहीकतै देख्नु हुनेले नजिकको प्रहरी कार्यालय वा ९८१५०५११३७ , ९८४१४६२३८४ मा सम्पर्क गरिदिन परिवारले सबैसँग आग्रह गरेको छ ।
कतार गएका उप्रेती पाँच वर्षदेखि बेपत्ता
उता वैदेशिक रोजगारको सिलसिलामा कतार गएका एक युवक पाँच वर्षदेखि बेपत्ता भएका छन् । झापाको कचनकवल ६ घर भएका ४८ वर्षिय सागर उप्रेती २०७२ मंसिर ९ गते कतार गएका थिए । बिर्तामोडस्थित एक्टीभ एजेन्ट मेनपावरबाट बिदेसिएका उनी गएको एक वर्षपछिदेखि सम्पर्कविहीन बनेको परिवारले जनाएको छ । शनिबार बिर्तामोडस्थित रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै परिवारले आफ्नो समस्या राखेका हुन् । उप्रेती परिवारले प्रहरी प्रशासनलाई पटकपटक निवेदन दिँदा समेत वास्ता नगरेको र मेनपावरले पनि यस कुरालाई चासो नदेखाएको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै सागरकी श्रीमती रामकुमारीले आफ्नो श्रीमान जिउँदो या मरेको भएपनि खोजी कार्य गरिदिन आग्रह गरिन् । उनले भनिन् ‘म आजको दिनसम्म उहाँलाई खोजी गरिरहेकी छु ,विवाह भएको ९ महिनापछिदेखि म उहाँसंग सम्पर्कमा छैन , म छोरी मान्छे भएर कसलाई गुहार्नु । मेरो बाँच्ने आधार छोराछोरीको ठाउँबाट पनि छैन त्यसैले खोजी गरिदिन बिन्ती गर्छु ।’ पत्रकार सम्मेलनमा बोल्दै बुवा प्रेमप्रसाद उप्रेतीले आजको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०७६ साल कार्तिक १० गते ८ः५७ बजे छोरा नेपाल प्रवेश गरेको रेकर्ड प्राप्त भएको तर त्यसपछि छोराको पत्ता नलागेको बताए ।त्यसैगरी सागरका मामा तुलसी मैनालीले भान्जाको खोजीकार्यमा मेनपावरले झुटो आश्वासन देखाएको भन्दै कतैबाट पत्ता नलागेपछि आफूहरु मिडियाको सहयोग माग्न आएको बताएका छन् ।