भद्रपुर, चैत २९ । प्रहरी प्रशासन मौन भएर बसिदिँदा झापाको सदरमुकाम चन्द्रगढीमा पछिल्लो समय चोरीका घट्ना बढ्ने क्रमले निरन्तरता पाएको छ ।

समाजमा चोरी डकैती नियन्त्रणसंगै शान्ति सुरक्षा कायम गर्ने जिम्मा पाएको प्रहरीले निगरानी नगर्दा सदरमुकाम चन्द्रगढीमा रातिको समय होस् वा दिउँसो चोरीका घट्ना दिनदिनै बढ्ने गरेका छन् ।
हप्ता दिन अगाडी मात्र भद्रपुर १० छाता चोक निवासी चन्द्रप्रकाश चापागाईको घरमा चोरी भएको घटना सेलाउन नपाउँदै शनिवार राति पुनः सोही ठाउँ हनुमान चौकपूर्व निरुपा बाँस्तोलाको घरमा चोरी भएको छ ।
ससूरा बुवा विरामी भएपछि आफ्नो मुल घर पृथ्वीनगर ज्ञानचोक परिवारसहित गएकी निरुपा आईतवार विहान घर आउँदा घरका सबै कोठाहरु फोडी कोठाका सामान चोरी भएको थियो ।
राति छतबाट प्रबेश गरी सिंढीको ढोका फोडी घरभित्र प्रवेश गरेको चोरले नगद ,गरगहना ,झर्काका थालसहित ६० हजारमाथिको सामान चोरी गरेको उनको भनाई छ ।
विगत केही दिनअगाडी सदरमुकामकै केन्द्रमोड ,धनुषमोडलगायतका क्षेत्रहरुमा खासगरी मानिस नभएको मौका पारी चोरी गर्ने क्रम बढेको छ । विगत एक महिनाअगाडी मात्र सोही ठाउँ निवासी प्रकाश निरौलाको मोटरसाइकल लेखापढीको कार्यालयबाट दिनदहाडै हराउँदा समेत प्रहरीले संलग्नलाई पक्राउ गर्न सकेको छैन । चोरीका घट्ना दिनप्रतिदिन बढ्दै जानुमा प्रहरीकै लापर्वाही भएको भन्दै रातिको समयमा सुरक्षा गस्ती खटाएर सुरक्षा दिन स्थानीयहरुले माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख सानुराम भट्टराईले घट्ना नियन्त्रणका लागि प्रहरी गम्भीर भएर लागिरहेको बताउँदै रातिको समयमा हुने चोरी तस्करी नियन्त्रणका लागि विशेष अभियान चलाईने जानकारी दिए ।