दमक , चैत २९ । स्थानीय सरकारको अधिकार तथा दायित्वअन्तर्गत पर्ने घरेलु साना तथा लघु उद्योगसम्वन्धी कानून तर्जुमाबारे दमक नगरपालिकामा छलफल शुरु भएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चको सक्रियतामा छलफलको थालनी गरिएको हो ।
सोही क्रममा उद्योग दर्ता, नवीकरण तथा नियमनसम्वन्धी कानूनको मस्यौदाबारे आईतबार अन्तरक्रिया गरिएको छ । मञ्चका प्रदेश १ का उपाध्यक्ष तथा दमक नगरसमिति अध्यक्ष डा. नविन चापागाईको अध्यक्षतामा भएको छलफलमा सरोकारवालाहरुले प्रस्तावित मस्यौदामाथि आ–आफ्नो धारणा राखेका थिए । छलफलका क्रममा जनप्रतिनिधिहरुले नयाँ कानूनबारे छलफल शुरु भएको र सबैको राय सुझाव समेटेर कानून तर्जुमा गर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक कानून बनाउन नगरपालिकाले प्राथमिकता दिँदै आएको बताए । उनले नगरभित्र स्थापना भएका तथा स्थापना हुने उद्योगहरुलाई सरल र सहज ढंगबाट सेवा प्रवाह गर्ने तथा नियमन एवम् अनुगमनका लागि चाँडै कानून निर्माणको प्रकृया थालनी गर्ने प्रतिवद्धता पनि जनाए । यस्तै नगरपालिका विधायन समितिका संयोजक बोधराज न्यौपानेले प्राप्त विधेयकको मस्यौदामाथि अध्ययन गरी नगरसभाबाट पारित गराउने बताए भने बजार अनुगमन समिति संयोजक भीम पौडेलले दमक नगरपालिकाले उपभोक्ता अधिकारको रक्षा, बजार व्यवस्थापन तथा सरल सेवा प्रवाहमा क्रियाशील रहेको धारणा राखे ।

विधेयकको मस्यौदाबारे अधिवक्ता कुमारी खरेलले प्रकाश पारेकी थिइन् भने मञ्चका प्रदेश १ का सचिव मेघराज श्रेष्ठले मञ्चले विभिन्न स्थानीय सरकारहरुलाई उपभोक्ता सचेतना, बजार व्यवस्थापनलगायतका क्षेत्रमा सहयोग गर्दै आएको र हाल उद्योग दर्ता, नवीकरण एवम् नियमनसम्वन्धी कानून निर्माणमा सहजीकरण गरिरहेको बताए । मस्यौदामाथि धारणा राख्दै दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष गोपाल गुरागाँईले उद्योगसम्वन्धी ऐन बनाउँदा र त्यसको कार्यान्वयन गर्दा संघलाई समेत सहभागी गराउन आग्रह गरे । कार्यक्रममा दमक नगरपालिकाका जनप्रतिनिधि, उपभोक्ता तथा बजारसँग सम्वन्धित कर्मचारी, प्रयोगशालाका प्राविधिक, दमक उद्योग वाणिज्य संघका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्