बिर्तामोड , चैत २९ । बिर्तामोडको देवी माविको कक्षा १२ मा पढ्ने विद्या राईले शनिबार आत्महत्या गरिन् । मेचीनगरको धाइजन घर भएकी उनले घरमै झुन्डिएर आत्महत्या गरेकी हुन् ।देवी माविमा पढ्ने विद्यार्थीले आत्महत्या गरेको यो पहिलो घटना होइन । विगत दुई महिनामा देवी मावि पढ्ने तीनजना विद्यार्थीले झुन्डिएर आत्महत्या गरिसकेका छन् ।

आत्महत्या गर्ने तीनैजना छात्रा हुन् । यसरी एकपछि अर्को विद्यार्थीले आत्महत्या गर्न थालेपछि अभिभावक र विद्यालय परिवार चिन्तित बनेका छन् । विद्यालयमा मानसिक रुपमा असामान्य अबस्थाका विद्यार्थीहरु अरु पनि भएका कारण फेरि पनि त्यस्तो घटना घट्न सक्ने चिन्ता थपिएको छ । विद्यालयले केही दिनअघि गरेको सर्वेअनुसार विद्यालयमा करिव २० जना विद्यार्थीहरु मानसिक रुपमा असामान्य अबस्थामा रहेको पाइएको हो ।

देवी माविमा आमरुपमा सामान्य परिवारका धेरै विद्यार्थीहरु अध्ययनरत छन् । आमा नभएका , बुवा नभएका , राम्रा अभिभावक नभएका ,राम्रो आर्थिक अबस्था नभएका विद्यार्थीहरुमा बढी नैराश्यता भेटिएको सहायक प्रधानाध्यापक लीला भण्डारीले बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीमा एकपछि अर्को आत्महत्याको घटना हुन थालेपछि विद्यालयले विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । तर, पनि त्यसको न्यूनीकरण हुन सकिरहेको छैन । यो समस्या जटिल बन्दै गएको सहायक प्रअ भण्डारीले बताए । ‘ विद्यालयको एक्लो प्रयासले मात्र यसको समाधान संभव छैन ’उनले भने ,‘ यसमा सबै पक्षको ध्यान जान जरुरी छ ।’

यसअघि पनि देवी माविका विद्यार्थीले आत्महत्या गरेका थिए । लकडाउनयता यस शैक्षिक सत्रको दुई महिनाको अवधिमा तीनजनाले आत्महत्या गरेको विद्यालयले जनाएको छ । यस शैक्षिक सत्रमा पहिलो आत्महत्याको घटना भएपछि विद्यालयले विद्यार्थीहरुमा सर्वे गरेको थियो । त्यसपछि विद्यार्थीहरुलाई आत्महत्या गर्न हुँदैन भनी काउन्सिलिङ गरिएको थियो । त्यसपछि दोस्रो घटना भएपछि विद्यालयले हरेक विद्यार्थीलाई सम्पर्क गरेर आत्महत्या न्यूनीकरणको अभियान नै संचालन गरेको थियो । तर, त्यसबाट आत्महत्या रोकिएन । शनिबार फेरि एकजनाले आत्महत्या गरेका छन् । आफ्ना छोराछोरी भर्ना गरेपछि विद्यालयमा कहिल्यै नआउने अभिभावकहरु पनि रहेको बताउँदै भण्डारीले आत्महत्या रोक्न अभिभावक शिक्षा अत्यन्त आबश्यक रहेको औंल्याए । उनले अहिले परीक्षा संचालन भइरहेको बताउँदै परीक्षा सकिएलगत्तै मनोवैज्ञानिक बोलाएर काउन्सिलिङ गर्ने कार्यक्रम रहेको जानकारी दिए । विद्यार्थीहरुको आत्महत्या रोक्नका लागि सरकारी तवरबाट समेत पहलको आबश्यकता रहेको खाँचो उनले आंैल्याएका छन् । देवी माविमा करिव २२ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्