दमक,चैत ३० । दमक नगरपालिकाले वास्तविक सुकुम्वासीलाई बसोबासको व्यवस्था मिलाउने भएको छ ।
दमक नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले यस्तो प्रतिवद्धता जनाएको हो । नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा बसोबास गर्दै आएका सुकुम्बासी तथा अतिविपन्नहरुलाई बैकल्पिक घरको ब्यवस्था गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको जनाएको हो ।
नगरपालिकाले आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख रोमनाथ ओलीले सुकुम्बासीको भावनामा खेलवाड गर्दै पछिल्लो समय नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा बर्षौदेखि बनाइएको व्यक्तिका घर टहरा हटाएर खाली गराउने बिषयमा अवरोध नगर्न आग्रह गरे ।
२०७१ सालदेखि बारम्बार यस क्षेत्रका राजनीतिक दल एवम् पूर्व नगरप्रमुख एवम् जनप्रतिनिधिहरुले पटक–पटक नगरको सार्वजनिक जमिन संरक्षण गर्न सहमति जनाएको फेहरिस्त प्रस्तुत गर्दै नगर प्रमुख ओलीले आफ्नो प्रतिबद्धता र नगरस्तरमा भएको दलीय सहमति विपरीतका गतिबिधि नगर्न राजनीतिक दलहरुलाई आग्रह पनि गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर प्रधानमन्त्रीको गृह नगरमा सुकुम्बासीहरुको घरमा डोजर लगाएको बिषय पछिल्लो समय सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यमहरुमा एकोहोरो रुपमा आइरहेकोप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको र वास्तविकता त्यस्तो नरहेको प्रमुख ओलीले तर्क गरे ।
उनले वास्तविक सुकुम्बासी घरवारविहीन भएको भए त्यस्तो परिवार अहिले पनि घर पाउने र बसोबासको पूर्ण ग्यारेन्टी नगरपालिकाले गर्ने स्पष्ट पारे ।
बाहिर जग्गा जमिन एवम् घर भएर यहाँ ठाउँ ओगट्नेलाई नगरपालिकाले छुट्टै घर दिन नसक्ने तर वास्तविक रुपमा नै घर नभएका सुकुम्बासीलाई भने बसोबासका लागि आवासको बन्दोबस्त गरिने प्रमुख ओलीले बताए । घर तथा जमिन खाली गराउनका लागि बारम्बार सूचना निकालेर यहाँ बसोबासीहरुसंग छलफल गरेर नै खाली गराइएको बताउँदै कसैले पनि वास्तविकतालाई तोडमोड गरेर गैरजिम्मेवारीपन देखाउन नमिल्ने उनको धारणा छ ।
आधा दर्जनभन्दा बढी सुकुम्बासी घर परिवारहरु एक बर्षअघि नै नयाँ बस्तीमा बनेको घरमा गएर बसेको र केहीले आफै व्यवस्थापन हुने भनेपछि आर्थिक सहयोग समेत नगरपालिकाले गरेको उपप्रमुख गीता अधिकारीले बताइन् । ‘हामीले घर बस्न चाहनेलाई नमूना बस्तीमा घर र नचाहनेलाई घरभाडा बापत रकम पनि दिएका छौं’– उपप्रमुख अधिकारीले भनिन् ।
अधिकारीले बारम्बारको सबैको आग्रह अनुसार नै सार्वजनिक सम्पत्ति संरक्षणको दायित्वलाई सम्झेर अहिले अतिक्रमित क्षेत्र खाली गराउन खोजिएको जिकिर गरिन् ।
‘वास्तविक सुकुम्बासीहरुको ब्यवस्थापन हाम्रो अर्थात् स्थानीय सरकारको दायित्व हो र हामी यसबाट भाग्दैनौं ’ उनले भनिन् । दमक–७ स्थित हाल खाली गराइँदै गरेको क्षेत्रमा बन्ने नयाँ सपिङ कम्प्लेक्समा सोही ठाउँमा यसअघि व्यवसाय गरेर बसेका व्यवसायीहरुलाई नै पहिलो प्राथमिकता दिइने उपप्रमुख अधिकारीले बताइन् ।