सपना आचार्य,
माई ,चैत ३१ । इलाम माई नगरपालिकाका १ सय २० जना युवाहरुले ब्यवसाय सञ्चालनका लागि दुई चरणमा १५ लाख रुपैंयाँ पाएका छन् ।

जीविकोपार्जनका लागि सुरक्षित आप्रवानी र स्व–उद्यमशीलतासम्बन्धी युवा सशक्तिकरण समुहको क्षमता विकास र परिचालनमार्फत बेचविखनबिरुद्ध अभियान कार्यक्रमअन्तरगत उनीहरुले सीप विकास तालिम लिई ब्यवसाय सञ्चालनका लागि जनही १२ हजार ४ सय ८५ रुपैयाँका दरले नगद प्राप्त गरेका हुन् । ब्यवसाय सञ्चालन गर्न उनीहरुलाई नगरपालिकाले सोमबार एक कार्यक्रम गरी प्रोत्साहन गरेको हो । स्थानीय स्तरको स्रोत परिचालनमार्फत जीविकोपार्जनमा सहयोग गर्दै ब्यावसायिक कृषिलाई प्रवद्र्धन गर्न नगरस्तरीय युवा सशक्तिकरण संजालमा आबद्ध ६० जनालाई नगरले ७ लाख ४९ हजार र एक हप्ताअघि एडब्लुओ र मानव अधिकार मञ्च नेपाल इलामले ६० जनालाई सोही बराबरको बीउ पूँजी रकम अनुदान सहयोग गरेको हो ।
माई नगरपालिकाको समन्वयमा एडब्लुओ र मानव अधिकार मञ्च नेपाल इलाम मुख्य साझेदार रहेको कार्यक्रममा ब्यावसायिक तालिम लिई सीप प्राप्त गरेका युवाहरुलाई सहयोग प्रदान गरिएको हो । बीउ अनुदान सहयोग कार्यक्रममा माईका मेयर दिपककुमार थेबे र उपमेयर बिष्णुमाया आचार्यले सहभागीलाई नगद हस्तान्तरण गरेको प्रशासन शाखा प्रमुख नविन कुमार पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्