माई इलाम, चैत ३१ । लाखौ खर्च गर्दा पनि निको बनाउन नसक्ने बालबालिकाको उपचार पोषणयुक्त खानाबाट सम्भव रहेको माईका मेयर दिपककुमार थेबेले बताएका छन् ।

६ देखि ५९ महिनासम्मका बालबालिकाको माध्यमबाट कुपोषितहरुको उपचार गर्नेगरी स्वास्थ्यकर्मीहरुका लागि सञ्चालन गरिएको बृहत पोषण तथा क्षमता अभिबृद्धिसम्बन्धी कार्यक्रमको समापनमा बोल्दै मेयर थेबेले संसारमा सबैभन्दा खुशी रहने भएकाले जनस्वास्थ्य र स्वास्थ्यकर्मीको दायित्वबाट शुरु गरी स्वास्थ्य समाज निर्माणमा पोषणको महत्वलाई सबैमा जानकारी गराउन जोड दिए । उपमेयर बिष्णुमाया आचार्यले स्थानीय तहमा सबैभन्दा बढी कुपोषण अन्त्य गर्ने जिम्मेवारी स्वास्थ्यकर्मीको रहेको बताउँदै सो कार्यमा सबैले सहयोग गर्नु पर्ने धारणा राखिन् । सात दिनको दुई चरणमा सम्पन्न तालिमको दोस्रो चरणमा माई नगरपालिकाभित्रका १५ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । माई नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा पोषणसम्बन्धी बृहत बिषयवस्तुहरुको एकिकृत प्याकेजमा तालिम प्रदान गरिएको हो । स्वास्थ्यकर्मीको ज्ञान, सीप तथा व्यवस्थापकीय क्षमता अभिबृद्धि गर्नेगरी गरिएको तालिमको समापन सत्रमा मेयर थेबे, उपमेयर आचार्य, माई नगरपालिका स्वास्थ्य निरिक्षक पुष्कर कट्टेल, सहभागी पबित्रा राईलगायतले तालिमको महत्वका बिषयमा मन्तब्य राखेका थिए ।