बिर्तामोड , चैत ३१ । पुन ः बढ्दै गएको कोरोनाको संक्रमणलाई मध्यनजर गरी काँकडभिट्टास्थित नेपाल भारत सीमानाकामा रहेको होल्डिङ सेन्टरलाई व्यवस्थित बनाइने भएको छ ।

जिल्लास्तरीय कोभिड १९ संक्रमण व्यवस्थापन समितिको आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले होल्डिङ सेन्टरलाई व्यवस्थित बनाउन तीन वटा जेम्बर स्थापना गर्ने निर्णय गरेको छ । त्यहाँ खानेपानी , बाथरुमलगायतका न्यूनतम सेवाहरु व्यवस्थित गर्ने निर्णय गरिएको जिल्लास्तरीय कोभिड १९ संक्रमण व्यवस्थापन समितिका सयोजक रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । होल्डिङ सेन्टर तथा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री सम्बन्धित पालिकाले नै बेहोर्नु पर्ने भएको छ । उनले सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीका युनिटहरु परिचालन गरी सीमानाकामा थप कडाई गर्ने निर्णय गरिएको जानकारी दिए । झापामा भारतसंग जोडिएको १४४.२ किलोमिटर लामो सीमा रहेको छ । त्यहाँ सशस्त्र प्रहरीका १८ वटा बिओपी खडा गरिएका छन् । भारतमा व्यापक रुपमा कोरोना फैलिएको र नेपालमा समेत पुनः संक्रमण दर बढ्न थालेकोले घर बाहिर निस्किँदा सबैले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्ने , सार्वजनिक स्थानमा भीडभाड नगर्ने , सभा , सम्मेलन , गोष्ठी , सेमिनार ,मेला , महोत्सवजस्ता कार्यक्रम नगर्न नगराउन जिल्लाका सबै पालिका तथा सम्बन्धित सबैलाई अनुरोध गर्ने , जनचेतनामूलक सूचना प्रचारप्रसार गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने , प्रहरीलाई माइकिङ गर्न लगाउने ,दैनिक रुपमा दुईवटा एम्बुलेन्सलाई तयारी अबस्थामा राख्नेलगायतका विभिन्न १२ वटा निर्णय गरिएको प्रजिअ तिमिल्सिनाले बताए । कार्यक्रममा प्रजिअ तिमिल्सिना , सहायक प्रजिअ कृष्णबहादुर शाही , प्रहरी उपरीक्षक सानुराम भट्टराई , सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे , जिल्ला अनुसन्धान कार्यालयका निर्देशक तिलक शर्मा प्रसाई , नयाँ श्रीनाथ गणका सेनानी आकृति घिमिरे , मेची अंचल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुर , जनस्वास्थ्य प्रमुख इश्वरीप्रसाद पौडेल , नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल , जिल्ला समन्वय समितिका नायव सुव्वा भानुभक्त भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्