भद्रपुर, बैशाख १ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा व्यक्तिगत घटना दर्ता अभियान शुरु भएको छ ।

राष्ट्रिय व्यक्तिगत घटना दर्ता दिवसको अवसर पारेर भद्रपुरमा हिजोदेखि अभियान सञ्चालन गरिएको हो । भद्रपुर नगरपालिका वडा नं १० को सभाहलमा आयोजित एक समारोहका बीच नगरप्रमुख जीवनकुमार श्रेष्ठले अभियानको उद्घाटन गरे ।
व्यक्तिगत घटना दर्ता नागरिकको मौलिक अधिकार भएकोले जन्म, विवाह वा मृत्युको ३५ दिनभित्र वडामा घटना दर्ता गराई आफ्नो अधिकार उपयोग गर्न भद्रपुरवासीसँग आग्रह गरे । अहिले पनि व्यक्तिगत घटना दर्ताको महत्व र आवश्यकता धेरैले नबुझेको, कतिपय बुझेका नागरिकले पनि बेवास्ता गर्दै आएकोले नगरको यथार्थ विवरण अद्यावधिक गर्न केही समस्या रहेको भन्दै जनप्रतिनिधिहरुले यसप्रति सक्रियता देखाउनुपर्ने बताए ।
नयाँ वर्ष २०७८ को शुभकामना आदान–प्रदानसहित वडा नं १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षतामा आयोजित कार्यक्रममा ७ नं वडाध्यक्ष विनोदप्रसाद पोखरेल, टोल विकास संस्थाका पदाधिकारीहरुले व्यक्तिगत घटना दर्ताका सम्बन्धमा आइपर्ने समस्या र समाधानका उपायहरुकाबारे चर्चा गरेका थिए । ७ नं वडा सचिव हिरण्य न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाको पञ्जिकरण शाखाका प्रकाश भट्टराईले गरेका थिए ।
व्यक्तिगत घटना दर्ताको यो १६ दिने अभियानमा नगरका विभिन्न स्थानमा प्रचारात्मक घुम्ती शिविरहरु आयोजना गरिने भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्