बिर्तामोड , बैशाख ३ । नेकपा एमालेको माधव नेपाल समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ ।

आफूनिकटका नेता कार्यकर्तालाई संगठित गर्दै माधव नेपाल समूहले नगर र जिल्ला तहमा समानान्तर अभ्यास थालेको हो । यसक्रममा शुक्रबार झापामा एमालेको समानान्तर जिल्ला कमिटी घोषणा भएको छ । पुराना कम्युनिष्ट नेता वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो ।
एमाले झापाका इन्चार्ज रविन कोइरालाले जिल्ला कमिटीका पदाधिकारी र सदस्यको नाम सार्वजनिक गरेका छन् । कमिटीमा चन्द्रमाया श्रेष्ठ उपाध्यक्ष र नीलमणि बराल सचिव छन् । एकताअघि एमालेको जिल्ला कमिटी १०५ सदस्यीय थियो । एमालेभित्र चर्किएको अन्तर संघर्षको परिणामस्वरूप माधव नेपाल समूहले जिल्ला र नगर तहमा समानान्तर कमिटी गठन गर्दै आएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल आफैँ सहभागी भएर एमाले झापाको जिल्ला कमिटी घोषणा गरेका हुन् । कार्यक्रममा सहभागिता जनाउन उनी बिहीबार नै झापा आएका थिए । शुक्रबार दिउँसो बिर्तामोडको सिटी सेन्टरमा आयोजित कार्यक्रमका बीच एमालेको जिल्ला कमिटी घोषणा गरिएको हो । कार्यक्रममा एमाले उपमहासचिव घनश्याम भुसाल, भीम आचार्य, घनेन्द्र बस्नेत पनि सहभागी भएका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै एमाले नेता नरेश खरेलले पार्टीलाई गतिशील र प्रभावकारी बनाउन पुराना र नयाँ नेता कार्यकर्तालाई समेटेर जिल्ला कमिटी बनाइएको बताए ।

कार्यक्रममा युवा संघको जिल्ला कमिटी पनि घोषणा गरिएको छ । १५१ सदस्यीय जिल्ला कमिटीको नेतृत्व राजु धिमालले गरेका छन् । झापा मेचीनगरका स्थायी बासिन्दा धिमाल युवा संघमा निरन्तर सक्रिय छन् ।
युवा संघका केन्द्रीय सदस्य प्रत्युस आजाद रानाले युवा संघका पदाधिकारी र सदस्यको नाम सार्वजनिक गरेका हुन् । युवा संघको उपाध्यक्षमा रञ्जित मेचे, सचिवमा निकास पाण्डे, सहसचिवमा सुमन ओली र कोषाध्यक्षमा मदन मगर छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्