झापा , बैशाख ५ । आज बिहान झापाको दुई ठाउँमा आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको छ ।

भद्रपुरको फर्निचर उद्योग र बुधबारेको बाख्रा फार्ममा आगलागी भएको हो । बिहान ३ बजे भद्रपुर ७ मा यादवराज पोख्रेलले संचालन गरेको एपी फर्निचर उद्योगमा अचानक परेको चट्याङबाट बिद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट तयारी फर्निचर, फर्निचर बनाउन प्रयोग हुने काठ गरी पचास लाख मूल्य बराबरको क्षति भएको छ । सो आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय , भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा ४ः१५ बजे समयमा पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
त्यस्तै बुद्धशान्ति गाउँपालिका ४ देवीबस्ती बस्ने ज्योति विमलीको इटा, काठ र टिनको छानो भएको एकतले बाख्रा फार्ममा पनि आगलागी भएको छ । अचानक आगलागी हुँदा फार्मभित्र रहेका बोयर जातका ४० वटा बाख्रा जलेर मरेका छन् । साथै बाख्रालाई खुवाउने दाना र फार्म पूर्णरुपमा जलेर नष्ट हुँदा पैसठ्ठी लाख बराबरको क्षति भएको जनाइएको छ ।सो आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय , बिर्तामोड र भद्रपुरको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्