बिर्तामोड, बैशाख ५ । छुवाछुत र विभेदका घटनाहरुलाई सामुदायिकरण गर्नुपर्ने राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीले बताएका छन् ।

दलित जागरण अभियान केन्द्र नेपाल बिर्तामोडले आइतबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै दलित आयोगका नवनियुक्त सदस्य बराइलीले विभेदका घटनालाई आमनागरिकले उठाउनु पर्ने बताएका हुन् । विभेद समाजको सामन्तबादी कुसंस्कार भएको हुँदा यसको अन्त्यको लागि जुझारु इमान्दार सामाजिक अभियन्ताहरुको खाँचो रहेको बराइलीले औंल्याए । दलितका मुद्धालाई वर्गीकरण गरी पीडितलाई न्याय दिन आयोग लागिपर्ने उनले प्रतिवद्धता जनाए ।
कन्काई नगरपालिका ५सुरुङाको बलबहादुर विश्वकर्मालाई सोही ठाउँका मोहन घिमिरेले कुटपिट गरी मारेको भन्दै त्यस घटनाको दलित आयोगले छानविन गरिरहेको बताउँदै निर्दोष विश्वकर्मालाई न्याय दिन दलित संघसंस्थाहरुको प्रत्यक्ष पहरेदारी हुनु पर्ने बराइलीले बताए । प्रतिनिधिसभा सदस्य विमला विश्वकर्माले समाजमा रहेको विभेद अन्त्यको कानुन बनेपनि कार्यान्वयन फितलो रहेको बताइन् । १ नम्वर प्रदेशका पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संविधानमा पाएको अधिकारको उपयोग गर्न सबै दलितहरु एक भएर लाग्नुपर्ने बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले आउँदो जनगणना गर्न आउने गणकलाई दलित समुदायभित्रका ब्यक्तिले थर र जात अनिवार्य रुपमा लेखाउन अनुरोध गरे । कार्यक्रममा दलित केन्द्रका अध्यक्ष छविलाल विश्वकर्माले दलित आयोगका सदस्य बराइलीलाई नेपाली टोपी लगाइदिएर सम्मान गरेका थिए । बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले आयोगका सदस्य बराइलीलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्