बिर्तामोड , बैशाख ५ । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच मानव बेचबिखन न्यूनीकरणका लागि सरोकारवालाको भूमिका विषयक एकदिने गोष्ठी सम्पन्न भएको छ ।

नारी सञ्चार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा आयोजित गोष्ठीमा बेचविखन हुने कारण, बेचविखन ओसार–पसारमा संलग्न हुन सक्ने संभावित व्यक्ति, बेचविखन गर्ने तरिका, अनुसन्धान गर्दा दिनुपर्ने कुराहरु, न्यूनीकरणका लागि सरोकारवालाको भूमिका, कानूनी व्यवस्थालगायतका विषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष आचार्यले सहजीकरण गरेका थिए । टोल विकास संस्थाका प्रमुख तथा पदाधिकारी, नगर क्षेत्रभित्रका विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधि सहभागी कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले गरेकी थिइन् ।
नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रसाईले मानव बेचविखन न्यूनीकरणमा सबैको सहयोग उत्तिकै आवश्यक रहेको बताउँदै सभ्य समाज निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट जागरुक हुनुपर्नेमा जोड दिइन् ।
सोही कार्यक्रममा बोल्दै विशेष अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले नेपालबाट भारतका कोठीमा पुर्याउनुलाई मात्र मानव बेचविखन नबुझ्न सुझाउँदै मुलुकभित्रै र खाडी मुलुकहरुमा कानूनी प्रावधानविना नै पुर्याइने घटनातर्फ पनि समाजको ध्यान मोडिनुपर्ने बताए ।
कार्यक्रममा विर्तामोड नगरपालिका वडा नंं–६ का महिला वडा सदस्य पवित्रा ढुङ्गाना, एबीसी नेपाल झापाका अध्यक्ष कञ्चना ढकाल सिटौला, टोल विकास संस्थाका तर्फबाट बासुदेव संग्रौला, महिला सुरक्षा दबाब समूहका अध्यक्ष शारदा रिजाललगायतले आ–आफ्ना धारणा राख्दै मानव बेचविखन जस्तो जधन्य अपराध न्यूनीकरणका लागि समाजका सचेत व्यक्तिले गतिविधिलाई निगरानी गर्नुपर्नेमा जोड दिए । सो अवसरमा सहभागीले उठाएका जिज्ञासाका बारेमा सहजकर्ता आचार्यले स्पष्ट पारेका थिए ।नारी सञ्चार गृह झापाका संस्थापक अध्यक्ष सावित्रा दाहालले स्वागत मन्तव्यसहित औचित्य माथि प्रकाश पारेको कार्यक्रममा निवर्तमान अध्यक्ष अम्बिका भण्डारीले धन्यवाद ज्ञापन गरेकी थिइन् भने सञ्चालन रेजिना गौतमले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्