झापा , बैशाख ६ । आज वैशाख ६, झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिन । सोही दिनको स्मरणमा सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ ।

२०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा आजकै दिन झापाको सदरमुकाम चन्द्रगढीमा नेपाली सेनाको गोली लागेर सहादत प्राप्त गरेका सहिद सुरज विश्वास र राजन गिरीले देशका लागि बलिदान दिएका थिए ।
सोही अवसरमा सहिद सुरज विश्वास पार्क निर्माण समितिले सोमबार विहान भद्रपुरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । भद्रपुर– ६ स्थित सहिद सुरजको अर्धकदको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । सहिद सुरज विश्वास पार्क निर्माण समितिका अध्यक्ष गोपाल मण्डलको अध्यक्षता तथा प्रदेश सांसद बसन्त बानियाँको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जली सभामा सहभागीहरूले मुलुकमा संघीय लोकतन्त्र र गणतन्त्र स्थापना गर्नका लागि सहिदले दिएको बलिदानलाई कसैले पनि भुल्न नहुने बताएका छन् । सभामा सहिद माता मिना विश्वास, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बरुवाल, ४ नम्बर वडा अध्यक्ष हंश राजवंशी, नेकपा एमालेका नगर इन्चार्ज असारु राजवंशी, एमालेका नगर अध्यक्ष ब्रह्मलाल ढुङ्गाना, घनश्याम अधिकारीलगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव दीपक अग्रवालले गरेका थिए ।

त्यस्तै चन्द्रगढी विमानस्थलमा संगठित यातायात व्यवसायीको चन्दगढ यातायात प्रा.लिले सहिद सुरज विश्वासको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । व्यवसायीले भद्रपुर–८ स्थित आफ्नै भवनमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ३१ जनाले रगत दान गरेका थिए । चन्दगढ यातायातका अध्यक्ष विजय वैध अध्यक्षता तथा प्रदेश सांसद वसन्त बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको एमालेका नगर इन्चार्ज असारु राजवंशीले जानकारी दिए । नेपाल रेडक्रस सोसाईटी झापा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा नगर इञ्चार्ज राजवंशीले ६५ औं पटक रगत दिएका थिए । सहिद सुरज चालक भएको र उनी चन्द्रगढी विमानस्थलमा टयाक्सी चलाउँथ्ये । यता कनकाई नगरपालिकामा सहिद राजन गिरीको अर्धकदको सालिकमा पनि माल्यार्पण गर्दै स्मृति दिवस मनाइएको थियो ।

२०६३ साल वैशाख ६ गते झापाको सदरमुकाम घेराउ गर्न हजारौँ झापाली पुगेका थिए । शाही सत्ता तथा राजतन्त्रबाट आक्रान्त त्यो जनलहरमा थिए राजन गिरी र सुरज विश्वास । उनीहरूसँगै जनताले निषेधित क्षेत्रको घेराबन्दीलाई तोडेर शान्तिपूर्ण रूपमा आन्दोलनलाई अगाडि बढाइरहेका थिए ।सोही क्रममा तत्कालीन शाही नेपाली सेनाले निर्दोष जनतामाथि बर्बर दमन गर्न सुरु ग¥यो । त्यसैबेला झापाली दुई युवालाई गोली लाग्यो र उनीहरूले सहादत प्राप्त गरे । सहिदद्वयले सहादत प्राप्त गरेको आज १५ वर्ष पूरा भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्