दमक, बैशाख ६ । गर्मीयाम शुरु भएसंगै तराईमा सर्प डसाईका विरामी बढ्न थालेका छन् ।

जिल्लाका विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा पछिल्लो समय सर्प डसाईबाट उपचार गर्न आउने विरामीको संख्या बढ्दै गएको हो ।
सर्प डसाईका विरामीलाई लक्षित गरी दमक र चारआलीमा खोलिएका सर्प डसाई उपचार केन्द्रमा केही दिनयता विरामीको संख्या बढ्न थालेको त्यहाँस्थित उपचार केन्द्रका अधिकारीहरुले जनाएका छन् ।

नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाले करिव दुई दशकदेखि दमकमा सर्प डसाईका विरामीको उपचार गर्दै आएको छ । त्यस केन्द्रले बर्षेनि १२ सयको हाराहारीमा त्यस्ता विरामीको उपचार गर्दै आएको उक्त सर्प डसाई उपचार केन्द्रका इन्चार्ज देवीप्रसाद भण्डारीले बताए । अहिले गर्मी र बर्षायामको शुरुवाततिर केन्द्रमा दैनिक ६–७ जना विरामी आउने गरेका छन् ।
उनका अनुसार चैत–बैशाखदेखि जाडोयाम नसकिँदासम्म दैनिकजसो सर्प डसाईका विरामी उपचार गर्न आउने गर्छन् । दिनमा भन्दा साँझपख सर्प बढी सक्रिय रहने हुँदा त्यसवेला सर्प डसाईका घटना अधिक हुने उनको भनाई छ । गर्मी छल्न तथा भोजनका लागि दुलो बाहिर निस्कने हुँदा त्यसवेला मानिसलाई डस्ने गरेको छ । उनले भने ‘गर्मीयामभरि तराईमा सर्प डसाईको जोखिम मानिन्छ ,सर्प डसाईबाट सुरक्षित रहन साँझपख हिडडुल गर्दा सावधानी अपनाउनु पर्छ ’
दमकको उपचार केन्द्रमा जिल्लासहित उत्तरपूर्वी मोरङ र इलामका दक्षिणी भेग चुलाचुलीका सर्प डसाईका विरामीले उपचार पाउँदै आएका छन् ।
त्यसैगरी जिल्लाको पूर्वी क्षेत्रलाई लक्षित गरी २०६१ सालदेखि चारआलीस्थित नेपाली सेनाले पनि सर्प डसाई विरामीकोउपचार गर्दै आएको छ ।त्यहाँ पनि ठूलो संख्यामा सर्प डसाईका विरामीले उपचार पाउने गरेका छन् ।

त्यस्तै जिल्लाको मध्य भेगका बासिन्दालाई लक्षित गरी कन्काई नगरपालिका ४ कोटिहोममा स्थापना गरिएको कन्काई सहारा सर्पदंश उपचार केन्द्रले उपचार प्रदान गर्दै आएको छ । केन्द्रमा अहिले दैनिक ६–७ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्