सुरुङ्गा , बैशाख ७ । टाइब्रेकरमा जीत निकाल्दै विराटनगरको विराट बुद्ध भेट्रान एफसी झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कनकाई माविको खेलमैदानमा हिजो भएको खेलमा विराटनगरले धरान भेट्रान क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश पाएको हो । निर्धारित समयमा दुवै टोलीले समान १–१ गोलको बराबरी गरेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा विराटनगर भाग्यमानी सावित भयो ।
प्रतिस्पर्धात्मक खेलमा दुवै टिमको गोल भने दोस्रो हाफमा सम्भव भएको हो । धरानका लागि खेलको ५२औँ मिनेटमा शिवकुमार राईले गोल गरेर अग्रता दिलाएका थिए । तर, त्यो अग्रता २ मिनेट पनि बचाउन नसक्दा विराटनगर खेलमा फर्कियो । विराटनगरका लागि ५४औँ मिनेटमा रुद्रबहादुर खड्काले गोल गरे ।
खेलको म्यान अफ दी म्याच विराटनगरका सन्तोष बस्नेत घोषित भए । ५२ वर्षीय उनले निर्धारित समयको खेल पूरै खेलेका थिए । उनलाई कनकाई केमिकल एन्ड प्याकेजिङका केशव मैनालीले नगद २ हजार प्रदान गरे ।
कनकाई भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । आज दमक लखनपुर भेट्रान एफसी र दूधे भेट्रान क्लब सताक्षीधामबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पाउँदा उपविजेताले नगद ६१ हजार र ट्रफी पाउनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्