दमक, बैशाख ८ । दमक –६ मा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो दशौ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

बार्षिकोत्सवका अवसरमा दमकमा रक्तदान तथा दमककै रक्तसञ्चार सेवाकेन्द्रलाई रगत दानका लागि चाहिने दुई थान वेड प्रदान गरिएको संस्थाले जनाएको छ । रक्तदान नेपाल रेडक्रस सोसाईटी दमकको रक्तसञ्चार सेवाकेन्द्रमा भएको हो । रक्तदानमा ६ महिलासहित २८ जनाले रगत दान गरेका थिए । संस्थाका सचिव ज्ञानु पौडेल, सदस्य जमुना खरेल, संस्थाका व्यवस्थापक नवराज बाँस्तोला,सहव्यवस्थापक तिलक नेपालीसहित कर्मचारी,सञ्चालक,शेयर सदस्यहरुले रगत दान गरेको अध्यक्ष दिपक खरेलले बताएका छन् ।
यसैगरी संस्थाले रक्तदानमा सघाउ पुर्याउने उद्देश्यले रक्तसञ्चार सेवाकेन्द्रलाई दुई थान वेड हस्तान्तरण गरेको उनले जनाएका छन् । संस्थाले बार्षिकोत्सवमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जनाएको छ ।
बार्षिकोत्सव कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष कृष्णप्रसाद तिम्सिना, उपाध्यक्ष रोशनकुमार गौतम,सचिव ज्ञानु पौडेल सञ्चालक,शेयर सदस्य,कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।
शेयर पूँजी ६ करोड ८० लाख पुग्यो
दमकमा मुख्य कार्यालय रहेको एभरेष्टको हाल शेयर पूँजी करिव ६ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
सहकारीका व्यवस्थापक नवराज बाँस्तोलाका अनुसार निक्षेपतर्फ करिव ५६ करोड,कर्जातर्फ रु करिव ५८ करोड ५० लाख पुगेको छ । दमकसहित संस्थाको केर्खा,सुरुङा,बिर्तामोड र बुधबारेमा सेवाकेन्द्र सञ्चालनमा छन् । संस्थामा हाल ७३१५ जना शेयर सदस्य आवद्ध छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्