भद्रपुर, बैशाख ८ । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणको विस्तारसँगै सरसफाइको महत्व बढ्दै गइरहेको बेला झापाको सदरमुकाम रहेको भद्रपुरमा सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

नगरपालिकाको आर्थिक सहयोग र सरसफाइको क्षेत्रमा काम गर्दै आइरहेको क्लिन झापाको आयोजनामा भद्रपुरका २, ३ र ४ नं वडामा सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
‘दुषित खानेपानी तथा फोहोरजन्य रोगहरु र पूर्ण सरसफाइमा समदायको भूमिका’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको र यसले समुदायमा सरसफाइसम्बन्धी सचेतना अभिबृद्धि भएको आफूले पाएको क्लिन झापाका सचिव रुद्रबहादुर न्यौपानेले जानकारी दिए ।
मंगलबार २ र ३ नं वडालाई समेटेर वडा नं २ को कार्यालयमा कार्यक्रम सञ्चालन गरिएको थियो । नगरप्रमुख जीवनकुमार श्रेष्ठले कार्यक्रम उद्घाटन गरेका थिए भने २ नं वडाध्यक्ष भीम केरुङ र ३ नं वडाध्यक्ष दशरथ प्रधानले समापन गरेका थिए । वडा नं ४ मा यसअघि नै कार्यक्रम सम्पन्न भइसकेको छ ।
अन्तरक्रियामा संस्थाका सचिव न्यौपानेले ‘सरसफाइ र स्वच्छताको अवधारणा, शौचालय एक फाइदा अनेक’ र ‘कोभिड–१९ ले पारेको असर र अपनाउनुपर्ने सावधानी’, अध्यक्ष शान्ति उपाध्यायले खानेपानीसम्बन्धी र उपाध्यक्ष सन्तोष न्यौपानेले ‘फोहोरमैला व्यवस्थापन’ र ‘पूर्ण सरसफाइ’का विषयमा प्रस्तुती दिएका थिए ।
क्लिन झापाले यसअघि कचनकवल गाउँपालिकाका सबै वडा र केही विद्यालयमा सरसफाइ सचेतना कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्