सुरुङ्गा, बैशाख ८ । आयोजक कनकाई भेट्रान्स क्लब सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरको विराट बुद्ध स्पोर्टिङ्ग क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजक कनकाईले फाइनलमा स्थान पक्का बनाएको हो ।
खेलको पहिलो हाफमा विराट बुद्धले अग्रता बनाए पनि दोस्रो हाफमा आयोजकले दुई गोल फर्काएको थियो । खेलको २९ औँ मिनेटमा विराट बुद्धका निराजन बस्नेतले उत्कृष्ट गोल गरेका थिए । कनकाईको रक्षापंक्ति बिट भएको मौकाको फाइदा उठाउँदै बस्नेतले गोल गरेका थिए ।
त्यस्तै, ३४ औँ मिनेटमा विराट बुद्धका विराटकुमार भुजलको प्रहार कनकाईका गोल रक्षक सञ्जय ठाकुरले सुन्दर बचाउ गरेका थिए ।
दोस्रो हाफमा भने आयोजक कनकाई लयमा फर्किएको थियो । खेलको ४९ औँ मिनेटमा कनकाईका रमेश गुरुङले पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए । सन्तोष बस्नेतको पासमा गुरुङले बललाई पोस्टको दिशा दिएका थिए ।
त्यस्तै, खेलको ६१ औँ मिनेटमा कनकाईले दोस्रो गोल गर्दै आफ्नो जित निश्चित गरेको थियो । रमेश गुरुङको पासमा राजु खड्काले गोल गरेका थिए ।
६२ औँ मिनेटमा कनकाईले दोस्रो गोल गरेपछि विराट बुद्धले खेल मैदान छोडेको थियो । म्याच रेफ्री लक्ष्मण जैसवालले विराट बुद्धलाई खेलमा फर्किन आग्रह गरे पनि नमानेपछि कनकाईले खेल जितेको निर्णय गरेका थिए ।
यसैबीच, समय अवधि नसकिँदै खेल मैदान छाड्ने विराट बुद्धलाई झापा जिल्लाभरि कुनै पनि प्रतियोगितामा सहभागी नगराइने म्याच रेफ्रीले निर्णय गरेका छन् । आयोजक कनकाई भेट्रान्स क्लबले पनि निर्णायकको अन्तिम निर्णय नै आयोजकको निर्णय भएको जनाएको छ ।
बुधबारको खेलको म्यान अफ द म्याच आयोजक कनकाईका पूर्ण सुब्बा घोषित भए । उनलाई ढुवानी व्यवसायी तथा फुटबलप्रेमी श्याम प्रसाईंले नगद दुई हजार रुपैयाँ प्रदान गरे । कनकाईले फाइनल खेल दुधे र इटहरीबीचको विजेतासँग खेल्नेछ । कनकाई भेट्रान्स क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पाउँदा उपविजेताले नगद ६१ हजार र ट्रफी पाउनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्