बिर्तामोड , बैशाख ९ । लैंगिक हिंसाका घटना रोक्ने उद्धेश्यले वीरता लेडी जेसीजले बिहीबार सरोकारवाला निकायसंग अन्तरक्रिया गरेको छ ।

बद्लिदो यौन हिंसा तथा बलात्कारका घटना रोक्ने उद्धेश्यले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
शहरी क्षेत्रमा समेत पछिल्लो समय यौनजन्य हिंसाका घटना बढिरहेको भन्दै वीरता लेडी जेसीजले यौनजन्य हिंसा रोक्न सबै सचेत बन्नुपर्नेमा जोड दिएको छ । पछिल्लो समय यौन हिंसाको स्वरुप बद्लिएको भन्दै यस विषयमा पुरुषहरुलाई समेत सचेत बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना सिटौला, महिला चेम्बर झापाकी अध्यक्ष प्रेमा भट्टराई, बिर्तामोड–४ की वडा सदस्य कविता थापा, नेवा ः मिसा दबु झापाकी अध्यक्ष तिलरुपा श्रेष्ठलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले आधुनिकतासंगै हिंसाको रुपमा पनि आधुनिकता आएकोमा चिन्ता ब्यक्त गरे । वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाई रहेकी थिइन् । उनले हिंसा बद्लिएको होइन, स्वरुप मात्रै बद्लिएको बताइन् । शिक्षित महिलाहरु नै यौनजन्य हिंसाको शिकार बन्नु परेको भन्दै अब सबै सजग बन्नु पर्नेमा जोड दिइन् । उपल्लो दर्जाका महिलाहरु हिंसामा परेपनि हिंसाका घटना लुकाउनुपर्ने बाध्यतामा परेकाले अझै धेरैले न्याय पाउन नसकेको उपप्रमुख प्रसाईले बताइन् । कार्यक्रममा अविधक्ता कविता बास्तोला(शर्मा)ले अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेकी थिइन् । उनले महिला हिंसाका घटनाहरुको विषयमा जानकारी गराएकी थिइन् । अधिवक्ता शर्माले कानुनी प्रवधानका विषयमा समेत सहभागी महिलाहरुलाई जानकारी गराएकी थिइन् ।
वीरता लेडी जेसीजकी कार्यकारीणी उपाध्यक्ष संगीता गिरीले स्वागत गरेको कार्यक्रममा आस्था वाचन सदस्य निसा शाक्य र सञ्चालन महासचिव हिमा पौडेलले गरेकी थिइन् । कार्यक्रममा सविना ढकाल र झुमा भट्टराईले यौन हिंसाका विषयमा बोलेका थिए ।