झापा , बैशाख १० । हिजो बिहान आएको हुरीबतास र असिना पानीले झापामा किसानले लगाएको वालीनालीमा करिव दुई करोड मूल्य बराबरको क्षति पुगेको छ ।

हुरीबतास र असिना पानीबाट १ करोड ९८ लाख ६० हजार मूल्य बराबरको क्षति भएको अनुमान गरिएको हो । खासगरी केरा , मकै , तरकारी र फलफूल वालीमा क्षति पुगेको छ । जिल्लाको १६९ हेक्टर क्षेत्रफलमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । जिल्लाका ६ सय घरधुरी किसान प्रभावित भएका छन् । ती किसानहरुले आफूहरुलाई क्षति पुगेको विवरण टिपाएको कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले बताए । उनले कनकाई , कचनकवल , बाह्रदशी , झापा , गौरादहका किसानलाई बढी असर पुगेको जानकारी दिए ।
केरामा ७० लाखभन्दा बढीको क्षति
हिजो बिहान आएको हावाहुरीले दुर्गामाता केरा खेती ब्लकमा ७० लाखभन्दा बढीको क्षति पुगेको छ ।

बाह्रदशी ७ , कनकाई ५ र ६ तथा झापा गाउँपालिका वडा नं ५ मा ३ सय विगाहभन्दा बढी क्षेत्रफलमा केरा खेती गरिएको छ । त्यसमध्ये करिव २० विगाहको केरामा पूर्णरुपमा क्षति पुगेको र अन्यमा आंशिक क्षति पुगेको दुर्गामाता केरा खेती ब्लक विकास कार्यक्रमका अध्यक्ष लक्ष्मी चिमरियाले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विगत तीन वर्षदेखि त्यहाँ केरा खेती ब्लक विकास कार्यक्रम संचालन भइरहेको छ । बढी गरेर चिनी चम्पा केरामा क्षति पुगेको चिमरियाले बताए ।‘९५ प्रतिशत चिनीचम्पा केरामा क्षति पुगेको छ ’उनले भने ,‘माल्भो केरामा चाहिँ ५० प्रतिशतभन्दा बढी क्षति भएको छ ।‘ लक्ष्मी चिमरिया , कुलप्रसाद चिमरिया , कमल लिम्बू , दुर्गा शाक्यलगायतका किसानले लगाएको केरामा क्षति पुगेको हो । किसानले थेग्नै नसक्ने क्षति भएको चिमरियाले बताए । ब्लकका किसानहरुले ७० लाखको इस्टिमेट गरी क्षतिपूर्तिका लागि सरोकारवालासँग माग गरेका छन् । हिजै बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशी , कृषि ज्ञान केन्दका प्रमुख निलकमल सिंहलगायतको टोलीले क्षति पुगेको केरा खेतीको निरीक्षण गरेका छन् ।पीडित किसानको माग अनुसारको क्षतिपूर्ति दिनका लागि आफूहरुले प्रदेश सरकारलाई सिफारिस पठाएको कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्