झापा, बैशाख १० । भारतसँग खुल्ला सिमाना जोडिएको झापामा कोरोना संक्रमण बढ्दै जाँदा बिहे ब्रतबन्धमा मानिसहरुको जमघट हुने क्रम बढेर गएको छ ।

दोस्रो लहरमा अझ भयावह रुपमा कोरोना संक्रमण फैलिरहँदा मानिसहरु बेफिक्री बिहे ब्रतबन्धमा बाक्लै सहभागी हुने गरेको पाइएको छ । कोरोना महामारीबाट बढी प्रभावित जिल्लामध्ये झापा पनि एक हो । झापामा दिनप्रतिदिन संक्रमितहरुको सँख्या थपिदै गएको छ । बैशाख शुरु भएयता कोरोनाको संक्रमण विस्तार भइरहँदा बिहे,ब्रतबन्ध,भोजभतेर पनि बाक्लै हुन थालेका छन् । सरकारले दिएको निर्देशन र तोकेको मापदण्ड विपरित त्यस्ता भोजभतेरहरुमा मानिसहरुको बाक्लै जमघट हुन थालेको छ ।

कतिपयले घरमा र कतिपयले पार्टी प्यालेसमा सयौंलाई भेला गराएर बिहे ब्रतबन्ध गराउने गरेका छन् । यद्यपि सरकारले २५ जनाभन्दा बढी भेला नहुन र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन निर्देशन दिएको छ । त्यसलाई बेवास्ता गर्दै त्यस्ता कार्यक्रमहरु भइरहेको पाइएको छ । मापदण्डविपरित भोजभतेरमा अत्यधिक भीडभाड हुन थालेपछि प्रहरी प्रशासनले अब कडाइ गर्ने भएको छ । अपेक्षा गरेभन्दा अत्यधिक भीड हुन थालेपछि बिहे ब्रतबन्धमा कडाई गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । उनले शुक्रबार आफू एउटा विवाहमा जाँदा मानिसको भीड देखेर छक्क परेको बताउँदै प्रहरीलाई बिहे ब्रतबन्धको अनुगमन गर्न तत्काल निर्देशन दिएको जानकारी दिए । ‘यसबारे एसपी सावसँग कुरा भइसकेको छ ’उनले भने । पार्टी प्यालेसहरुले कार्यक्रम आयोजना गर्न दिँदा अनिवार्य अनुमति लिनुपर्ने नियम लागू गरिएको समेत उनले जानकारी दिए ।

झापामा दोस्रो लहरमा संक्रमण फैलिएयता करिव तीन साताको अवधिमा ९३ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये १८ वर्ष मुनिका दुई जना रहेका छन् । एकजना १५ र अर्का १७ वर्षकालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भोजभतेरहरुमा अत्यधिक भीडभाड चिन्ताको विषय बनेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौंलागाईले बताए । दोस्रो लहरमा झापाका तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्