झापा , बैशाख १३ ।सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

हिजो सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका संयोजक तथा सचिव खगराज बरालले जानकारी दिए । उनका अनुसार यो सिफारिस नभएर आजदेखि नै लागू हुनेगरी भएको निर्णय नै हो । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षालयमा तय भएका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय भएको हो । कोरोनाको जोखिम कम भएपछि उपयुक्त समयमा परीक्षाको नयाँ तालिका तय गरिने बताइएको छ । आजदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । स्रोतले भन्यो, ‘एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ ।’ यसअघि बसेको मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठनपाठन भौतिकरुपमा गर्न नपाइने भनेपनि परीक्षा चाहिँ नरोकिने बताएको थियो । त्यसैगरी मेडिकल कलेजको पढाइ पनि नरोकिने क्याबिनेटको आदेशमा उल्लेख थियो ।
तर, हिजो बसेको सीसीएमसीको बैठकले सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित गरेको हो ।बालुवाटारको शनिबारको ब्रिफिङमा प्रधानमन्त्री केपी ओलीले सरकारको आदेश र स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि प्रभावकारी योजना ल्याउन निर्देशन दिएपछि आइतबार सीसीएमसीको बैठक बसेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्