झापा , बैशाख १३ । सरकारी निर्णयपछि झापाका स्थानीय तहहरुले पूर्वनिर्धारित परीक्षा स्थगित गरेका छन् ।

सरकारले आइतबार पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षालयमा तय भएका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय भएको हो । कोरोनाको जोखिम कम भएपछि उपयुक्त समयमा परीक्षाको नयाँ तालिका तय गरिने बताइएको छ ।
केन्द्रको निर्णयपछि मेचीनगर नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुको वार्षिक परीक्षा स्थगित गरिएको छ । भौतिक रुपमा हुने पूर्वनिर्धारित परीक्षाको सम्पूर्ण कार्यक्रम स्थगित गर्ने जानकारी प्राप्त भएपछि नगरभित्र सञ्चालनमा रहेका सबैखाले विद्यालयको वार्षिक परीक्षा स्थगित गरिएको नगर शिक्षा शाखाले जनाएको छ । शाखाका अनुसार नगरभित्र ४१ सामुदायिक, निजी ५९ र धार्मिक गरी कुल १ सय ९ वटा विद्यालय रहेका छन् ।
२०७७ सालको वार्षिक परीक्षा सञ्चालनका सम्बन्धमा नगर प्रमुख विमल आचार्यको अध्यक्षतामा सोमबार शिक्षकका पेशागत संघसंगठनका प्रतिनिधि, प्याब्सन र एन प्याब्सनका प्रतिनिधिहरुको छलफलबाट नगरपालिकाको पूर्वनिर्धारित परीक्षाका सम्पूर्ण कार्यक्रमहरु अर्काे सूचना नहुञ्जेलसम्म स्थगित गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले बताए । यदि अनुगमनका क्रममा यो सूचनाको उल्लंघन गरी परीक्षा सञ्चालन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने समेत भण्डारीले बताए । त्यस्तै बिर्तामोड नगरपालिकाले पनि वार्षिक परीक्षा सार्ने विषयमा छलफल अघि बढाएको छ । बिर्तामोडमा बैशाख २० गतेदेखि वार्षिक परीक्षा गर्ने तालिका रहेको थियो । यसअघि बैशाख २० गतेदेखि परीक्षा संचालन गर्नेगरी बिर्तामोडका सामुदायिक तथा संस्थागत विद्यालयहरु वैशाख १९ गतेसम्मका लागि बन्द गरिएका थिए । बैशाख २० गतेदेखि गर्नेगरी तोकिएको परीक्षा सार्ने विषयमा छलफल भइरहेको नगर शिक्षा अधिकारी तिलचन भण्डारीले बताए । उनले जिल्लाका अन्य पालिकाहरुले गरेको निर्णयलाई हेरेर आफूहरुले पनि निर्णय गर्ने जानकारी दिए । बैशाख २० गतेदेखि पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्दै पूर्वनिर्धारित वार्षिक परीक्षा सञ्चालन गर्ने नगरपालिकाले तयारी गर्न लगाएको थियो ।

बिर्तामोडमा सामुदायिक र संस्थागत गरी ७५ वटा विद्यालय रहेका छन् । त्यहाँ करिव ३२ हजार विद्यार्थी अध्ययनरत छन् । कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै यसअघि नै दमक, बिर्तामोड र मेचीनगरका विद्यालय बन्द गर्न जिल्ला कोभिड संक्रमण व्यवस्थापन समितिले निर्देशन दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्