बिर्तामोड , बैशाख १४ । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले बार्षिक लक्ष्य नौ महिनामा नै पुरा गरेको छ ।

शिखर साकोसको तेस्रो त्रैमासिक समीक्षा गोष्ठी तथा उत्प्रेरणा कार्यक्रममा सो जानकारी दिइएको हो । संस्थाले ६० करोड बचतको लक्ष्य लिएकोमा चैत्र मसान्तसम्म ६५ करोड पुगिसकेको छ भने शेयर पूँजी पाँच करोड २५ लाख पुर्याउने लक्ष्य रहेकोमा पाँच करोड १६ लाख पुगेको छ । त्यसैगरी सदस्य सँख्या ७ हजार २०१ पुर्याउने लक्ष्य रहेकोमा हालसम्म सदस्य संख्या ७ हजार ६४६ जना पुर्याउन सफल भएको छ । ऋण लगानी भने लक्ष्यको ९२ प्रतिशत मात्र रहेको छ । लगानी कम माग भएको हुँदा ऋणको लक्ष्य पुर्याउन नसकिएको समीक्षा गरिएको छ । तथापि यस वर्षको अन्त्यसम्म लक्ष्य हासिल गर्न सफल हुने कुरामा संस्था ढुक्क छ । सेवामा उत्कृष्ठ सहकारी बन्ने लक्ष्य लिएको यस संस्थाले कोभिडको अवस्थामा पनि उल्लेख्य सफलता हासिल गर्न सफल भएको छ । हरेक सुचकहरु लक्ष्यभन्दा बढी भएकोमा कर्मचारीलाई धन्यवाद दिइएको छ । कोभिडले बजार बन्द रहनु , डर र त्रासको बीचमा पनि सदस्यहरुको घरघरमा गएर सदस्यहरुलाई सेवा दिन कर्मचारीहरु खटेकोमा संचालक समितिले खुसी व्यक्त गरेको छ । त्यसैगरी लकडाउनको समयमा संस्थाले आफ्नो भवन खरिद गर्न सफल भएको छ ।

संस्थालाई अझ सवल, सक्षम र भरोसाको केन्द्र बनाएर सदस्यहरुको बीचमा पुर्याउन जरुरी रहेको ठहर गर्दै आफ्नो कार्यक्षेत्रभित्र सेवामा उत्कृष्ठ रहन समितिले सुझाव दिएको छ । उत्प्रेरणा कार्यक्रमको सहजीकरण योगेन्द्र पौडेलले गरेका थिए भने संस्थाका अध्यक्ष दिपेन्द्र राउतले संस्थाको भावी योजना तथा हालसम्मको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वृद्धि विकासमा कर्मचारीको अथक मेहनत र समितिको साथ सहयोग रहेको बताए । कोभिडको बीचमा पनि संस्थाले यो प्रगति हासिल गर्नु भनेको सदस्यहरुको विश्वास र भरोसा रहेको हँुदा सदस्यहरुको विश्वास र भरोसालाई कहिले पनि विचलन हुन दिन नहुने राउतले बताए । उनले वित्तीय संस्था भनेको सुरक्षित रहँदै जहिलै सदस्यहरुको हितमा काम गर्नुपर्ने धारणा राखे ।

गरामनी, राजगढ र बिर्तामोड तीन सेवाकेन्द्रबाट संस्थाले सेवा दिइरहेको हुँदा आफ्नो कार्यक्षेत्रमा यस संस्थालाई अव्वल र उत्कृष्ठ सहकारी बनाउन आफ्नो पूर्ण योगदान रहने सेवाकेन्द्र प्रमुखहरुको धारणा रहेको छ । तीन सेवाकेन्द्रमा ३३ जना कर्मचारीबाट सेवा दिँदै आएको यस संस्था जिल्लामा नै पहिलो प्रविधिमैत्री संस्था रहेको छ । संस्थाले प्रदान गरेको शिखर एम बैंक सेवा हालसम्म १३ सय सदस्यहरुले उपयोग गर्दै आएका छन् । क्युआर कोड, कार्डलेस एटिएम सेवा समेत सुरु गरेको संस्थाले प्रविधिमा आफूलाई अपडेट राखेको छ ।कर्मचारीको क्षमता अभिवृद्धि गराउँदै संस्थालाई दिगो र सक्षम बनाउनु संस्थाको उद्धेश्य रहेको छ ।संस्थाका सहसचिव तारा खतिवडाले संचालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष राउतले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्