काँकरभिट्टा, बैशाख १४ । भारतका विभिन्न शहरमा दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि पूर्वी सीमानाका काँकरभिट्टा भएर नेपाल प्रवेश गर्ने भारतीयहरुलाई मंगलबारबाट रोक लगाईएको छ ।

नेपालमा समेत कोरोनाको दोस्रो लहर बढेको भन्दैं भारतीयहरुलाई नेपाल प्रवेशमा रोक लगाईएको स्थानीय प्रशासनले जनाएको छ । काँकरभिट्टा नाका भएर भारतबाट आउने नेपालीहरुलाई पीसीआर टेष्टको रिपोर्ट हेरेर आउन दिइएको छ । त्यस्तै नेपालबाट भारत जानेहरुलाई परिचयपत्रका आधारमा आवतजावत गर्न दिईएको प्रहरीले जनाएको छ ।

भारतीय नागरिकलाई काँकरभिट्टा नाका भएर नेपाल प्रवेशमा रोक लगाएसँगै मंगलबार मेची पुल सुनसानझैं बनेको छ । कोरोना संक्रमण फैलिन नदिन नगरका व्यवसायीहरुलाई समेत यसको रोकथाममा लाग्न मेचीनगर नगरपालिकाले आग्रह गरेको छ । मंगलबार नगरपालिकाका तर्फबाट नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरका यातायात व्यवसायी, तथा त्यससँगसम्बद्घ संघसंगठन, उद्योगी व्यवसायी, वित्तीय संस्थाका प्रतिनिधिहरुसँग अलगअलग छलफल गरी यसको रोकथाममा लाग्न आग्रह गरेका हुन् ।
नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा हरेकले नगरक्षेत्रमा सचेतनामुलक कार्य सञ्चालन गर्ने तथा नगरवासीलाई अनावश्यकरुपमा हुने भीडभाडमा नजान आग्रह गर्नुपर्नेमा जोड दिईएको थियो । मास्क, सेनिटाइजर, ग्लोब्ससहित स्वास्थ्य सामग्री अनिवार्य प्रयोग गर्न नगरप्रमुख आचार्यले आग्रह गरे । सामाजिक दुरी कायम गर्न भन्दैं नगरप्रमुख आचार्यले मास्क, सेनिटाइजर र ग्लोब्स प्रयोग नगर्नेलाई सार्वजनिक सवारी साधनमा सेवा नदिन यातायात व्यवसायी लाग्नुपर्ने बताए । हरेक सवारी साधनमा यस्ता सुरक्षाका सामग्री अनिवार्य राख्नुपर्ने उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्