दमक, बैशाख १५ । दमकस्थित लाईफलाईन अस्पतालमा मिर्गौला रोगीका लागि डाईलोसिस सेवा शुरु भएको छ ।

अस्पतालले बुधबार पहिलोपटक परीक्षणका रुपमा एक जना विरामीको डाईलोसिस गरिएको जनाएको छ । केही समयअघि रोटरी क्लब दमकले लाईफ लाईन अस्पताललाई करिब ८० लाख मूल्य बराबरमा चारवटा डाईलोसिस मेशिनसहितका अन्य उपकरणहरु उपलव्ध गराएको क्लबका निवर्तमान अध्यक्ष सन्दिप चापागाईले जानकारी दिए । क्लबले उपलब्ध गराएको मेशिनबाट पहिलोपटक परीक्षणका रुपमा एक जना विरामीको डाईलोसिस गरिएको उनले बताए । मेशिन सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भईसकेको र यहि बैशाख महिनाभित्रैबाट नियमितरुपमा डाईलोसिस सेवा सञ्चालनमा आउने चापागाईले बताए ।
यस अघिसम्म दमकलगायत आसपासका क्षेत्रका मिर्गौलाका विरामीहरुले यो सेवा लिन दमकबाहिर बिर्तामोड, विराटनगर, धरान जानुपर्ने बाध्यता रहेको थियो ।
अब दमकबाट नै डाईलोसिस सेवा सञ्चालनमा आउने भएपछि विरामीले जोखिम मोलेर अन्यत्र जानुपर्ने बाध्यताको चाँडै अन्त्य हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. तिलकचन्द्र शाहले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्