दमक, बैशाख १९ । मेचीनगर नगरपालिका वडा नं . ६ मा रहेको किराँत समुदायको समाधिस्थलमा डोजर चलाएको घट्नाप्रति किराँत समुदाय आन्दोलित भएका छन् ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्न भन्दै नगरपालिकाको निर्देशनमा त्यहाँको समाधिस्थलमा गत बिहिबार डोजर लगाएर भत्काइएको घट्नाको विरोध गर्दै जिल्लाका किराँत समुदाय आन्दोलित भएका हुन् ।
डोजर प्रयोग गरी समाधिस्थल भत्काएपछि आदिवासी तथा जनजातिहरुको प्रतिनिधिमूलक संस्था नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय समितिसहितका जातीय संस्थाले आपत्ति जनाएका हुन् । त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेलगायतका नेताले समेत त्यसको भत्र्सना गरेका छन् ।
यसैक्रममा किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष शेसेहाङ फियाकले विज्ञप्ति जारी गरी मेचीनगर नगरपालिकाले आदिवासी जनजातिको मेची खोला किनारको पुरानो समाधिस्थल भत्काउने कार्यले सिंगो किरात धर्मालवम्बीसहित आदिवासी जनजातिको मृत्यु संस्कारमाथि नै प्रहार भएको जनाएको छ ।
समाधिस्थलको व्यवस्थापन गर्ने बहानामा त्यसका सरोकार पक्षहरुसंग संवाद नै नगरी आफूखुसी स्थानीय सरकारले गैरजिम्मेवार हर्कत देखाएको र यस कार्य आफूहरुलाई कुनै हालतमा सह्य नभएको उनले उल्लेख गरेका छन् । विज्ञप्तिमा संघीय गणतान्त्रिक नेपालको संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रताको हक र मानव अस्तित्व पहिचानको हक,अधिकारको बर्खिलापसंगै यसले सिंगो धार्मिक तथा जातीय सद्भावमाथि खलल पुर्याउने कार्य भएको ठहर गरिएको छ ।
यस्तै काँग्रेस प्रबक्ता शर्मा र नेता आङदेम्बेले पनि कसैको पनि समाधिमा डोजर चलाउने कार्य अत्यन्तै दुःखद भएको भन्दै संवादमार्फत समाधानका लागि सबैलाई आग्रह समेत गरेका छन् ।
दुवै नेताले समाधिस्थल हटाएर अन्य कुनै संरचना निर्माण गर्नका लागि सम्बन्धित समुदायलाई विश्वासमा नलिँदा झापाको लखनपुरस्थित पाडाजुंगीमा भएको विवाद जन्मिएको भन्दै त्यसबाट सजग हुन समेत मेचीनगर नगरपालिकालाई आग्रह गरेका छन् ।
किराँत समुदायको समाधिस्थलमा डोजर चलाएको बिषयमा मेचीनगर नगरपालिकाले दुःख ब्यक्त गरेको छ । ‘मानवीय संवेदनासंग जोडिएको समाधिस्थलजस्ता संरचना भत्काउने वा नष्ट गर्ने नगरपालिकाको कुनै मनसाय नरहेको भए पनि समन्वयमा भएको कमजोरीका कारण घट्ना घटेकोप्रति नगरपालिका दुःख ब्यक्त गर्दछ’ नगरप्रमुख बिमल आचार्यले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्