झापा,बैशाख १९ । झापामा चारसहित प्रदेश नं १ का विभिन्न जिल्लामा कार्यरत १० जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ ।


नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशले झापाका ४, मोरङका ३, सुनसरी, खोटाङ र ओखलढुंगाका १–१ जना पत्रकारमा कोरोना संक्रमण भएको जनाएको हो । महासंघका १ नम्बर प्रदेश समितिका महासचिव विवेक गौतमले संक्रमणको विस्तार तीब्र रहेकोले पूर्वसतर्कता र सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय तथा मापदण्डहरु अवलम्बन गरेर काम गर्ने वातावरण सिर्जना गर्न सञ्चार गृहहरुलाई आग्रह गरेका छन् ।
महासंघले कारोना संक्रमणको बहानामा श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता कार्य नगर्न तथा पत्रकारको पारिश्रमिक वापतको बाँकी बक्यौता रकम तत्काल भुक्तानी दिन सञ्चार गृहहरुलाई आग्रह पनि गरेको छ ।
कोभिड १९ को दोस्रो लहरबाट प्रभावित भएका पत्रकारको उपचार, समस्यामा परेका पत्रकारहरुलाई सहयोगको लागि समन्वय र आवश्यक स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापनको लागि शाखासँगको समन्वयमा पहल गर्न प्रदेश समिति उपाध्यक्ष लबदेव ढुंगानाको संयोजकत्वमा सचिव देवेन्द्र कार्की , कोषाध्यक्ष विमल लामिछाने, सदस्य धु्रव भट्टराई र सुशिला पाठक रहेको रेस्पोन्स समिति गठन गरिएको पनि महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै कोभिड १९ को दोस्रो लहरले पत्रकारको पेशागत सुरक्षामा परेको असर तथा श्रमसँग जोडिएका विभिन्न समस्याको बारेमा शाखासँगको समन्वयमा रिपोर्ट संकलन र समस्या समाधानको पहल गर्न उपाध्यक्ष हिमाकुमारी चेम्जोङको संयोजकत्वमा सचिव सन्तोष यादव तथा सदस्यहरु गोपालप्रसाद पोखरेल, लिलाराज झापाली, विनु तिम्सिना र माला पालुङ्वा रहेको समिति गठन गरिएको छ ।
कोरोना भाइरसको संक्रमण सुरु भएपछि शाखाहरुमा रहेका पत्रकारको अवस्था, संक्रमणको अवस्थाका बारे नियमित रिपोर्ट पठाउन शाखाहरुलाई निर्देशन दिइएको छ । कोरोना संक्रमित भएका र कोरोनाको कारण समस्यामा परेका परेका पत्रकारहरुको सहयोगको लागि पूर्वतयारी गर्न पनि आग्रह गरिएको छ । अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन, खोपको व्यवस्था गर्न, पिसिआर परीक्षणको सहज व्यवस्थापन गर्न र संक्रमित पत्रकारहरुलाई सहज रुपमा निःशुल्क उपचारको प्रबन्ध गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
जोखिमपूर्ण अवस्थामा पनि नागरिकको सुुसूचित हुने अधिकार रक्षाको लागि खटिएका श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानहरुलाई राहत र सहुलियतको व्यवस्था गर्न तीनै तहको सरकारसँग महासंघले माग गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्