फिक्कल , बैशाख २० । झापाको मेचीनगरस्थित काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्नो ४२ औँ शाखा इलामको फिक्कलमा खोलेको छ ।

सूर्योदय नगरपालिका–१० मा रहेको पञ्चकन्या बहुउद्देश्यीय सहकारीलाई समाहित गर्दै एनएमसीले झापा जिल्ला बाहिर पहिलो शाखाको रुपमा फिक्कलमा खोलेको हो । शाखाको पहिलो शेयर खरिदकर्ता गणेश घिमिरेले शाखाको उद्घाटन गरे । २०५० सालमा स्थापना भएको एनएमसीको हालसम्म १ लाख १० हजारभन्दा बढी शेयर सदस्य रहेका छन् । पहिलो शेयर खरिदकर्ता घिमिरेलाई पञ्चकन्या सहकारीका अध्यक्ष देवीप्रसाद उप्रेतीले १ लाख १० हजार ७ सय ६६ आँै सदस्यको प्रमाणपत्र प्रदान गरे ।

एनएमसी सहकारीको चुक्ता शेयर पूँजी १ अर्ब ५ करोड रुपैयाँ भन्दाबढी रहेको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुमा ८ अर्ब भन्दाबढी लगानी गरेको छ । एनएमसीले झापा र इलामसँगै मोरङमा समेत शाखा विस्तार गर्ने तयारी गरेको छ ।
सरकारले ल्याएको सहकारी एकीकरण नीति अनुसार एनएमसीसँग पञ्चकन्यालाई समाहित गरिएको अध्यक्ष रामचन्द्र उप्रेतीले बताए । एनएमसीले मंगलबारबाट फिक्कलमा कारोबार सुरु गर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्