बिर्तामोड, बैशाख २० । काठमाडौंमा आइसीयु सुविधा नपाएर उपचारका लागि अस्पताल खोज्दै फेरि एकजना कोरोना संक्रमित बिर्तामोडको बिएण्डसी हस्पिटल आइपुगेका छन् ।

पाँच दिनको अन्तरमा काठमाडौंका दुईजना कोरोना संक्रमितलाई आइसीयु उपचारका बिएण्डसी हस्पिटल ल्याइएको हो । आज दिउँसो १ बजे सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौंको मनमोहन मेडिकल कलेजबाट बेडसिफ्ट गरेर शिवसताक्षी ५ का ३५ वर्षीय मदन पाठकलाई उपचारका लागि झापा ल्याइएको छ । पाँच दिनअघि काठमाडौंमा संक्रमित भएका शिवसताक्षीकै नरप्रसाद उप्रेतीलार्ई पनि हेलिकप्टरमार्फत उपचारका लागि बिएण्डसी हस्पिटलमा ल्याइएको थियो । पाठकलाई आइसीयुमा राखेर उपचार सुरु गरिएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । उनले काठमाडौंमा जटिल अवस्थाका कोभिड संक्रमितहरु आइसीयु र भेन्टिलेटर खोज्दै बेडसिफ्ट भएर आउने गरेको बताए । बिएण्डसीमा अहिले १९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । त्यसमध्ये ९ जनाको आइसीयु र १० जनाको कोभिड वार्डमा उपचार भइरहेको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए । आफूहरुले कोरोना संक्रमितहरुका लागि ६५ वटा बेडको व्यवस्था गरेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्