कुमरखोद ,बैशाख २३। दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि झापा गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका कोरोना संक्रमितको उपचारको लागि सुविधासम्पन्न आईसोलेसन सेन्टर तयार गरेको छ ।

झापा गाउँपालिका वडा ६ मा रहेको जेष्ठ नागरिक भवनमा २० बेडको अक्सिजनसहितको आईसोलेसन सेन्टर तयारी गरिएको हो । अहिले तत्कालका लागि अक्सिजनको व्यवस्थापनसहित २० बेडको आइसोलेसन सेन्टर तयार गरिएको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए । उनले आवश्यकता परे फेरि अक्सिजनसहितको बेडको विस्तार गरिने जानकारी दिए । कोरोना संक्रमणको दोस्रो लहरमा झापा गाउँपालिकामा अहिलेसम्म नयाँ भेरियन्टका संक्रमितको संख्या २९ पुगेको छ भने २ जना संक्रमितको मृत्यु भईसकेको झापा गाउँपालिका स्वास्थ्य प्रमुख लक्ष्मण विश्वकर्माले बताए ।