मोरङ, बैशाख २५ । सस्तो औषधीलाई महँगो औषधीको स्टिकर टाँस गरी बिक्री गर्ने औषधी संचालकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर ४ स्थित साथी मेडिकल औषधी पसलका संचालक विराटनगर १० अशोक चोकका २६ बर्षीय सोनु आलम र सोही पसलमा कार्यरत विराटनगर १६ रानीका २३ बर्षीय श्रवणकुमार यादव रहेका छन् ।
हिजो मध्यान्ह १२ बजे बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आलमले संचालन गरेको साथी मेडिकलमा खानतलासी गर्दा स्टासेफ नामक औषधी ४ बट्टा र Remdesivir नामक औषधि १ बट्टा फेला पारेको हो । आलमले स्टासेफ औषधी रू ९० मा खरीद गरी Remdesivir औषधीको नक्कली स्टिकर टाँस गरी ८ हजारसम्ममा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले उक्त औषधीमा टाँस्ने स्टिकर भारतको पटनाबाट आयात गरी ल्याएको खुल्न आएको हो ।

सो क्रियाकलापमा संलग्न अर्का यादव भने यस अघि २०७७ कार्तिक २५ गते विराटनगर ११ बसपार्क नजिक रातो भाले होटलमा १० ग्राम ब्राउन सुगर बरामद भएको कसूरमा अनुसन्धानको क्रममा फरार रहेका थिए । यादवलाई हिजो विराटनगर १६ रानी आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका आलमलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको छ भने यादवलाई लागूऔषध र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्