झापा, बैशाख २५ । मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिकाका खरिदार दीपक नेपालको मृत्यु भएको छ ।

बुद्धशान्ति गाउँपालिका १ पुल चौक बस्ने ४७ वर्षीय नेपाललाई गएराति मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । नेपाल निजामती कर्मचारी युनियनका क्रियाशील सदस्यसमेत रहेका नेपाल बुद्धशान्ति गाउँपालिकामा कार्यरत सहायक स्तर चौथो तहका कर्मचारी थिए । प्रहरीका अनुसार बुद्धशान्ति १ शान्ति चौकस्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको होन्डा कम्पनीको मोटरसाइकलले राति साढे ८ बजे सडकमा हिडिरहेका नेपाललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याएको र उनको उपचारको क्रममा राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने नम्बर नखुलेको मोटरसाइकलको खोजी भइरहेको डिएसपी थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्